रुकुम(पूर्व) लाई कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका १८ वर्ष माथिका कोभिड १९ बिरुद्धको खोप लगाउने लक्षित जनसंख्यालाई खोप लगाएर आगामि वैशाखमा जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको हो ।

अहिलेसम्म जिल्लामा ७७.४५ प्रतीशत नागरिकले कोभिड १९ बिरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । जिल्लाको लक्षित जनसंख्या ४५ हजार ३ सय ६९ जनामा पहलो मात्राको खोप लगाउने जनसंख्या ३७ हजार ९ सय ५० अर्थात ८३.६५ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार सबै भन्दा बढी भूमे गाउँपालिकामा खोप लागएका छन् ।

कोरोना रोग फोकल पर्सन गिरीकाअनुसार भूमे गाउँपालिकाको कुल लक्षित जनसंख्या १५ हजार ८ सय १३ जनामध्येमा १६ हजार दुई सय १ जना अर्थात १०२.४५ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । भूमे गाउँपालिकामा त्यहाँको लक्षित जनसंख्याभन्दा बढीलाई पहिलो मात्राको खोप लगाइएको छ । विभिन्न शिलशिलामा गाउँपालिकामा पुगेका नागरिकहरुलाई पनि त्यहाँ खोप लगाइएको छ । १४ हजार एक सय ९७ जना अर्थात ८९ दशमलव ७८ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

यसैगरी सिस्ने गााउँपालिकाको कुल जनसंख्या १४ हजार ६८ जनामा १२ हजार ४ सय ४४ अर्थात ८८.८६ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने ११ हजार ७ सय ४९ अर्थात ८३.२ प्रतिशत नागरिकले पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन गिरीले बताउनुभयो । सबैभन्दा कम खोप पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकले लगाएका छन् । त्याहाँ कोभिड १९ बिरुद्धको खोप लगाउने लक्षित जनसंख्या १५ हजार ४ सय ८७ जानमा ६०.०८ प्रतीशत अर्थात ९ हजार ३ सय ५ जनाले मात्र पहिलो मात्राको खोप लगाएका छन् । ९ हजार १ सय ९३ जना अर्थात ५९.३७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको फोकल सर्पन गिरीले बताउनुभयो ।

जिल्लालाई कोभिड १९ को पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सफल बनाउनको लागि आज रुकुमकोटमा कोभिड १९ सम्बन्धि डाटा भेरीफिकेसन तथा  QR कोड सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रममा अहिलेसम्म जिल्लामा खोपको अवस्थाको र कोभिड १९ बिरुद्धको खोपको QR कोर्ड कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रक्रियाको बारेमा स्वास्थ्यकर्मिहरुलाई कोरोना रोग फोकल पर्सन गिरीले जानकारी गराउनुभएको थियो । अब स्वास्थ्यकर्मिहरुले QR कोर्ड लिन चाहनेहरुलाई सहजिकरण गरिदिनुहुने छ ।

रुक्मेली समाज विकास केन्द्र रुकुमद्धारा सञ्चालित सुआहाराको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का निमित्त कार्यालय प्रमुख एवम् जनस्वास्थ्य निरिक्षक यादवप्रसाद शर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा सुआहारा रुकुमका कृषि तथा बजारीकरण अधिकृत लतिकुमार खड्काको पनि आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रुक्मेली समाज विकास केन्द्र रुकुमद्धारा सञ्चालित सुआहारा कार्यक्रम अन्तर्गतका कार्यक्रम अधिकृत कृष्ण बुढाले गर्नुभएको थियो ।