रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिकाको पालिकास्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड कप वडा नम्बर १ को हिमालय मावि मैकाटमा सुरु भएको छ । शिल्डको बिहिबार रुकुम(पूर्व) बाट निर्वाचित प्रतीनिधीसभा सदस्य एवम् पूर्व खेलकुदमन्त्री कमला रोका, पहिलो संविधानसभा सदस्य जुनकुमारी रोका, प्रदेश सासंद तेजबहादुर ओलीले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गर्नुभएको छ ।

यहि चैत्र १९ गतेसम्म चल्ने शिल्डमा विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । शिल्डमा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ १००, २००, ४००, ८००, १५०० र ३ हजार मिटरको दौड तथा छात्र छात्रा ज्याभलिङ थ्रो र सटफुट लगायतका प्रतियोगिता सञ्चालन गरिने शिक्षा शाखा प्रमुख खड्काले बताउनुभयो ।

शिल्डमा गाउँपालिका भित्रका ५ वटा विद्यालयले सहभागिता जनाएका छन् । गाउँपालिकामा ८ वटा माध्यामिक विद्यालय भएपनि अहिले अधिकांस विद्यालयका शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षा दिन गएको कारण अन्य विद्यालयले सहभागिता जनाउन नसकेको बताइएको छ । साथै आजै मैकोटमा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडियाको आयोजनामा वाल विवाह न्यूनिकरण सम्बन्धि सडक नाटक पनि प्रदर्शन गरिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका गाउँ शिक्षा समिति संयोजक एवम् ८ नम्बर वडाध्यक्ष भिमबहादुर मल्लको अध्यक्षतामा भएको शिल्ड उद्धघाटन कार्यक्रममा संघिय सासंद कमला रोकाको प्रमुख र पहिलो संविधान सभा सदस्य जुनकुमारी रोका, प्रदेश सासंद तेजबहादुर ओलीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, १ नम्बर वडाका कार्यबाहक अध्यक्ष मग कामीलगाएतको आतीथ्यता रहेको थियो ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका लेखा शाखाका प्रमुख नवराज खड्काले गर्नुभएको थियो ।