निराजन शेर्पाली/रुकुम(पूर्व)
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ स्थित एक महिला पहिचान नभएको रोगले ग्रसित हुनुभएको छ । दादिङकी ६५ वर्षकी चन्द्रकला बुढा विगत २५ वर्ष यता पहिचान नभएको रोगले ग्रसित हुनुभएको छ । उपचारको लागि विभिन्न ठाउँमा धाउदा पनि रोग के हो भनेर पहिचानै नभएको र यस रोगले उहाँ थलिदै जानुभएको छ ।
अहिलेसम्म रोग पत्ता लाग्छ की भनेर विभिन्न अस्पताल धाउदा धाउदै आर्थिक अवस्था पनि निकै कमजोर भएको बताउदै अब आफुसँग उपचार गर्ने पैसा समेत नभएको बुढाले बताउनुभयो । उहाँको दुवै खुट्टामा घाउ हुने, चिलाउने र विस्तारै मासु कुहिएर गल्ने समस्या देखिएको छ । देब्रे खुट्टा अप्रेसन तथा काटेर फालेपछि एउटा खुट्टामा मासु कुहिने समस्या ठिक भएको तर दाहिने खुट्टामा यो समस्या जटिल बन्दै गएको उहाँकी बुहारी गौचना बुढाले बताउनुभयो ।
बिरामी बुढा हिडडुल गार्न त परैको कुरा हो, शौच गर्न पनि अर्कैको साहारा आवश्यक पर्छ । बुढाले २५ वर्ष यता खुट्टाको मासु कुहिएर झरेको हेर्दा र त्यो पिडाले नर्ककै जिवन जिइरहेको आभास हुने गरेको कुरा भक्कानीदै सुनाउनुभयो । आर्थिक अभावकै कारण उपचार गर्न छोडेको बताउदै बुढले अझै कसैले आर्थिक सहयोग गरे खुट्टाको उपचार गर्ने चाहना भएको बताउनुभयो ।
उहाँले देश बिदेशमा रहनुभएका नेपाली आमा, बुबा, दाजुभाई तथा दिदिबहिनी, मिडियाकर्मी, संघसंस्था, सरोकारवाला सबैलाई उपचारको लागि आर्थिक सअयोग गर्न अपिल गर्नुभएको छ । जसको लागि मोबाइल नम्बर ९८१२८६८४८० र ९८४५२०३७८१ मा सम्पर्क गर्न उहाँको परिवारले आग्रह गरेको त्यहाँबाट निराजन शेर्पालीले खबर पठाउनुभएको छ ।