रुकुम(पूर्व) को तीन वटै गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । तीन वटै पालिकामा एकएक दिन माटो परिक्षण शिविर सञ्चालन गरिएको थियो । तीन दिनसम्म तीन वटै पालिकामा गरेको माटो परिक्षणमा २ सय ५५ वटा माटोको नुमना परिक्षण गरिएको छ । भूमे गाउँपालिकामा चैत्र १५ गते, १६ गते पुथाउत्तरगंगा गाउँपालिका र १७ गते सिस्ने गाउँपालिकामा माटो परिक्षण शिविर सञ्चालन गरिएको छ ।

भूमे गाउँपालिकामा ५८, पुथाउत्तरगंगा गाउँपालिकामा एक सय र सिस्ने गाउँपालिकामा ९७ वटा माटोको नुमना परिक्षण गरिएको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व)का कार्यलय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको सहयोगमा एक सय १४ वटा, प्रधानमन्त्रि कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम(पूर्व)÷रोल्पा कार्यालयको सहयोगमा ५६ वटा र यूएमएनद्धारा मिक नेपालको सहयोगमा ८५ वटा माटोको नमुना परिक्षण गरिएको हो ।

माटो परिक्षण शिविरमा तीन वटा पालिकाले समन्वय तथा सहजिकरण गरेका थिए । माटोको नमुना भने माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका प्राविधिक खिमबहादुर केसी र तिलकबहादुर केसीले गर्नुभएको थियो । रुकुम(पूर्व) को तीन वटै पालिकामा परिक्षण गरिएको माटोको नमुनामा पिएच हल्का अम्लिय देखिएको कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । उहाँकाअनुसार यहाँको माटोमा पोटासको मात्रा धेरै पाइएको छ भने नाइट्रोजन र फस्फोरस मध्यम पाइएको छ ।

भूमे गाउँपालिकाको माटोमा अली बढी नै अम्लीय देखिएको कारण त्यहाँको माटोमा कृषि चुन प्रयोगको लागि सिफारीस गरिएको छ । समग्रमा जिल्लामा माटो खासै नबिग्रीएको बताइएको छ । तर रुकुम(पूर्व) प्राङ्गारिक जिल्ला भएकाले यहाँको माटोमा प्राङ्गारिक मलको मात्रा बढाउनुपर्ने देखिएको कार्यालय प्रमुख बस्नेतले बताउनुभएको छ ।