
रुकुम(पूर्व) को भूमे गाउँपालिकामा पहिलो स्थानीय सरकारले अहिलेसम्म सम्पादन गरेका कार्य प्रगतिको सार्वजनिक गरिएको छ । पहिलो स्थानीय सरकारको रुपमा स्थापना भएको भूमेले गाउँपालिकाको केन्द्र खाबाङ बगरमा पत्रकार सम्मेलन गरि स्थापना कालदेखि अहिलेसम्म गरेका कामकाजको बारेमा जानकारी गराएको हो । संघियताको जगको रुपमा स्थापना भएको यस गाउँपालिकाले गरेका कामहरु संक्षिप्त रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिहं श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
२०७४ असार १४ मा भएको स्थानीय तहको चुनावपछि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सरसफाई, सञ्चार, यातायात तथा पूर्वाधारको क्षेत्रमा उल्येख्य कामहरु गरेको छ । जिल्लाको अन्य स्थानीय तह र देशभरकै स्थानीय तहको तुलनामा उत्कृष्ट काम गर्दै आएको गाउँपालिकाले विभिन्न नमुनायोग्य कामहरु गरेको छ ।
गाउँपालिकाले सफा र हरियालीः समृद्ध भूमे भन्ने नारासहित दिर्घकालिन लक्ष निर्धारण गरेर काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी गराउनुभयो । उहाँकाअनुसार गाउँपालिकाले सुरुमा लक्ष निर्धारण गरेको थियो । आर्थिक विकासलाइ पहिलो, समाजिक विकासलाई दोस्रो र पूर्वाधार तथा अन्तरसम्बन्धित क्षेत्रको विकासलाई तेस्रो प्राथमिकताको आधारमा काम गरिएको छ । गाउँपालिकाले सुरुको आर्थिक वर्षमा गुरुयोजना निर्माणको काम गरेको थियो । उसले एकीकृत गुरुयोजना निर्माण गरेर कामलाई अघि बढाएको थियो ।
गाउँपालिकाले आफ्नो कार्यकालको पहिलो अर्थात आर्थिक वर्ष २०७४÷७५ आधारभूत पूर्वाधार सेवा प्रवाह व्यवस्थापन, कानुन र गुरुयोजना निर्माणमा बिताएको थियो । यस्तै दोस्रो आर्थिक वर्षमा सामाजिक विकास र आर्थिक विकासमा बढी केन्द्रित रहेर काम गरिएको थियो भने तेस्रो आर्थिक वर्षमा क्षेत्रगत पूर्वाधार विकास निर्माण र गाुणस्तरमा जोड दिएर काम गरिएको गाउँपालिकाले जानकारी गराएको छ ।
चौथो आर्थिक वर्षमा पूर्वाधार विकास निरन्तरता र मानव संशाधनमा विकासमा जोड र आवधिक योजना निर्माणमा जोड दिएको गाउँपालिकाले जनाएको छ । यस्तै पाँचौ तथा चालु आर्थिक वर्षमा पूर्वाधार विकास, संस्थागत सक्षमता, क्षमता विकास र दिगोपना सहित जिम्मेवारी हस्तान्त्रणलगाएतका कामलाई जोड दिइएको बताइएको छ ।
शिक्षा र सुचना सञ्चारको क्षेत्रमा कामको प्रयास अधिकतम गरिएको तर अपेक्षीत उपलब्धि हासिल गर्न नसकिएको गाउँपालिकाले बताएको छ । कतीपय क्षेत्रमा गाउँपालिकाको एकल अधिकार नहुने भएकाले पनि केहि कामहरु गर्न नसकिएको बताइएको छ । तर यहाँको सिमित स्रोत, साधन, यहाँको भौगाृलिक विकटता र थुप्रै चाुनौतीको बिचबाट पनि भूमे गाउँ सरकारले सकारात्मक कामहरु गरेको छ । कार्यक्रममा सहभागी भएका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतीनिधीहरुले पनि गाउँपालिकाले गरेका कामको प्रशंसा गर्दै आगामि दिनको लाग सल्लाह सुझाव पनि दिएका छन् ।
भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्य प्रगति सार्वजनिकिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा(विष्ट), नेकपा माओवादी केन्द्रका वैकल्पि केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव धनप्रसाद बुढा, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठलगाएत वडाध्यक्षहरु र रुकुम(पूर्व) र पश्चिमका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन शाखा अधिकृत प्रेमप्रसाद भट्टराइले गर्नुभएको थियो ।