रुकुम(पूर्व) को भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले चुनावी प्रतिबद्धताअनुसार काम गरेको बताउनुभएको छ । संघियताको पहिलो स्थानीय सरकारको रुपमा स्थापित गाउँपालिकाले आफ्नो पाँच वर्षे कार्यकालको क्रममा सम्पादन गरेका कार्य प्रगतीको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाले चुनावी प्रतिबद्धताअनुसार काम गरेको बताउनुभयो । पहिलो स्थानीय सरकार भएकाले पनि सिकाईकै क्रममा जनचाहना अनुसारको काम गर्दै आएको अध्यक्ष बुढाले बताउनुभयो ।

गाउँपालिकाले सबै भन्दा बढी सडक क्षेत्रमा सन्तुष्टि हुने गरी काम गरेको उहाँले बताउनुभयो । अध्यक्ष बुढाकाअनुसार अहिले गाउँपालिकाका मुख्य सबै बस्तिमा सडक पुगेको छ । चुनावी नाराको कुरालाई गर्दा सडक क्षेत्रमा ९० प्रतिशत उपलब्धि हासिल गरेको अध्यक्ष बुढाले बताउनुभयो । यहाँको आवश्यकताको आधारमा विकास निर्माणको कामहरु गरेको भनाई उहाँको छ ।

मानव संशाधनको क्षेत्रमा भने गाउँपालिका कमजोर रहेको अध्यक्ष बुढाले बताउनुभयो । शिक्षा क्षेत्रमा अपेक्षित रुपमा काम गर्न नसकेको भनाई उहाँको छ । शिक्षामा सुन्ने, भन्ने र हान्ने रणनीति ल्याएर काम गर्ने भनिएपनि कोरोना भाइरसको कारण शिक्षाको क्षेत्रमा योजनाअनुसारको काम हुन नसकेको अध्यक्ष बुढाले बताउनुभयो । पूर्वाधारको क्षेत्रमा पनि अहिले विभिन्न कामकाज भइरहेको छ । सबै क्षेत्रमा स्थानीय, प्रदेश र संघ तीनै तहका सरबमरको योजना र बजेट एकीकृत भयो भने विकास निर्माणमा थप सहजता आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, अबको आवश्यकता भनेको आर्थिक समृद्धि र रोजगार हो । अहिले आधारभूत कामहरु गरेको गाउँपालिकाले आगामी दिनमा आर्थिक समृद्धि र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । अब आउने जनप्रतिनीधिले पनि अहिलेको स्थानीय सरकारले गरेको कामलाई निरन्तरता र पूर्णता दिदै एवम् तयार भएको गुरुयोजना, निती, नियमअनुसार काम गर्नुपर्ने बताउनुभयो । निर्णयमा एक रुपता र कार्यान्वयनमा प्रतिबद्ध भएर सिंगो गाउँपालिका परिवार लागेको कारण आफ्नो कार्यकाल सफल रहेको उहाँले बताउनुभयो ।

आगामी दिनमा पनि विभिन्न निकायले दिएको सल्लाह सुझावअनुसार काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।