नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले माओवादीका एजेण्डाहरु संविधानमा सुनिश्चित भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले तकसेरामा अयोजना गरेको जवस मोर्चा तथा पेशागत संगठनको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेता ओलीले माओवादीका एजेण्डाहरु संविधानमा सुनिश्चित भएको र यसैमा देश चलेको बताउनुभयो ।
माओवादीले गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धि स्वरुप देशमा राजतन्त्रको अन्त्य भई गाणतन्त्र, धर्मनिरपेक्षता, संघियता स्थापित भएको र केन्द्रिकृत सामन्तवादको अन्त्य गरेका नेता ओलीले बताउनुभयो । संघियताको कारण महिलाहरु नेतृत्वमा पुगेको र दुरदराजमा स्थानीय सरकार पुगेको उहाँको भनाई छ । यसअघिको चुनावमा गाउँगाउँमा सिहं दरबार भन्ने नारा अघि सारी चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले यसपालीको चुनावमा समाजवाद उन्मुखसहित समृद्धिको यात्रा भन्ने नारा अघि सारेको नेता ओलीले बताउनुभयो ।
यस्तै उहाँले अहिले पार्टी संसदिय लडाइमा रहेको बताउदै पार्टीका जनवर्गिय संगठनका स्वरुपहरु परिवर्तन हुन आवश्यक भएको बताउनुभयो । पार्टी निर्माणमा जनवर्गिय संगठनको भूमीका महत्वपूर्ण भएको बताउदै नेता ओलीले अवको चुनावमा पनि जिल्लालाई माओवादीको लालकिल्ला बनाउन जनवर्गिय र पेशागत संगठनले चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । एक हातमा पार्टीको चुनाव चिह्न्न र अर्को हातमा संगठनको सदस्यता बोकेर घरघरमा जान जवस तथा पेशागत संगठनका नेताहरुलाई उहाँले् आग्रह गर्नुभयो ।
यस्तै आगामी वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा सहमतीबाटै उम्मेद्वार छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चुनावमा तालमेल भन्दा पनि एक्लै जित्नेगरी लाग्नुपर्ने भनाई उहाँको छ ।