नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् वाइसीयलका केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पालीले पाँच वर्षको अवधिमा पूर्वाधार निर्माणको काम गरेको बताउदै आगामी निर्वाचनपछि नागरिकलाई आत्मनिर्भर गराउने बताउनुभयो । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा वाइसीयलले आयोजना गरेको बुथ केन्द्रको भेलालाई संबोधन गर्दै नेता शेर्पालीले यस्तो बताउनुभएको हो ।

स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा पूर्वाधारतर्फको विकास गरेको बताउदै नेता शेर्पालीले अबको चुनावमा विजयी भएर नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने बताउनुभयो । पार्टीलाई चुनावमा विजयी बनाउनको लागि सबै युवा र कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अहिले वाइसियलको बुथ केन्द्रित कार्यक्रम गर्दै पार्टीको नारालाई मात्र लिएर गाउँमा गएको बताउदै नेता शेर्पालीले पार्टीले छिट्टै उम्मेद्वारको टुङ्गो लगाउने र उम्मेद्वारसहित पार्टीका एजेण्डा लिएर गाउँमा जाने बताउनुभयो । त्यतीन्जेलसम्मको लागी वाइसियलले नागरिकलाई मतदाता शिक्षा प्रदान गर्ने, मतदाताको अवस्था पहिचान गर्ने, सबै वाइसीयललाई सक्रियाताका साथ परिचालन गर्नुपर्नेमा नेता शेर्पालीले जोड दिनुभयो ।

माओवादी पार्टीले सिस्ने पालिकामा मात्र जितेर नहुँने बताउदै सबै वडा र पालिकामा जितेर नमुना सरकार सञ्चालन गर्दै संविधानमा परिकल्पना गरेको समाजवादको आधार निर्माण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वाइसीयल नेपाल रुकुम(पूर्व) का जिल्ला संयोजक तिलक रेउले भाष्करले वडामा वाइसीयलको वडा र टोल समिति गठन तथा पर्नगठन गर्ने साथै वाइसियललाई मतदाताको सुरक्षा र कामकाजमा खटाउने बताउनुभएको छ । यस्तै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्काले आगामी स्थानीय तहको चुनावमा जसरी पनि माओवादी केन्द्रले जित्ने बताउनुभएको छ ।