रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ जना गणक र ५ जना सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक दशदश बर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोही अनुसार यो वर्ष देशभरमा सातौ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका १८ जना गणक र ५ जना सुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ ।

तालिम आजबाट रुकुमकोटमा सुरु भएको छ । आजबाट सुरु भएको तालिम वैशाख ३ गतेसम्म चल्ने कृषि गणना कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । कृषि गणनाको लागि जिल्लामा ४९ वटा गणना क्षेत्र तोकिएको कृषि गणना कार्यालय रुकुम(पूर्र्व) का प्रमुख शत्तिसकुमार चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार कृषि गणना बैशाख ६ देखी जेठ १९ गते सम्म हुने छ । ४५ दिनमा दुई चरणमा गणना हुने छ । पहिलो चरणमा सुचिकरण हुने छ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।

कृषि गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताहरुको विवरण, सिंचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफुल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीहरुको उत्पादन, वीउ विजन, वषादी र मलखादको प्रयोग लगायतको विवरण संकलन हुने छ ।

त्यस्तै जात अनुसार पाल्तु पशुपंक्षीको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछा पालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रयाप्ताका बारेमा पनि जानकारी संकलन हुने छ ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जिल्लामा रहेका प्रत्येक किसानको घरघरमा पुगेर सत्यतथ्य डाटा संकलन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले गणकहरुले लिएको डाटाको आधारमा नै नेपालमा कतिले कृषि पेसा गरिरहेका छन भन्ने थाहा हुने भएकोले घरमा बसेर फोनको भरमा भन्दा प्रत्येक किसानको घरमा पुगे मात्र सहि तथ्यांक आउने बताउनुभयो ।

कार्यालय प्रमुख चौधरीको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कृषि गणनाका सुपरिवेक्षक सन्तोष मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक कृषि गणना अधिकृत बिनोद शाहिले गर्नुभएको थियो ।