
रुकुम(पूर्व) मा एकै पटक सात वटा टारवबाट फोर जी सेवा सुचारु गरिएको छ । जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा निर्माण भएका नयाँ र यस अघि टु जी सेवा सञ्चालन आएका टावरमा एक साताको समयमा फोर जी सेवा सेचारु गरिएको हो । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १, पुथाउत्तरगंगा गाउँपालिकाको अर्जल, विर्गुम, कोल, जाङ, भूमे गाउँपालिकाको चुनबाङ र सेपेको धुुरीमा रहेका टावरबाट एकै पटक फोर जी सेवा सुचारु गरिएको नेपाल दुर सञ्चार कार्यालय रुकुम(पूर्व) का कार्यालय प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो ।
“सिस्ने १ नम्बर वडा र पुथाउत्तरगंगा गाउँपालिकाको अर्जलमा नयाँ निर्माण गरिएका टावर हुन्”, यादवले भन्नुभयो, “त्यहाँ फोर जी र टु जी सेवा सँगै सुचारु गरिएको होे ।” अन्य चार वटा टावरमा भने यस अघि नै टु जी सेवा सुचारु गरिएको उहाँको भनाई छ । अहिले फोर जी सेवा सुरुवात गरिएको हो । सेपेको धुरीमा रहेको टावरमा भने टु जी सेवा नभएको कार्यालय प्रमुख यादवले बताउनुभयो । सिस्ने १ मा यस अघि फोनले काम नै गर्थेन । अहिले टावर सञ्चालनमा आएसँगै त्यहाँका नागरिकहरु पहिलो पटक सञ्चारको पहुँचमा जोडिएका हुन् । पुथाउत्तरगंगा गाउँपालिकाको अर्जलमा पनि पहिले फोनले काम नगर्ने र अधिकांस ठाउँका नागरिकहरु फोन गर्नकै लागि घण्टौ लगाएर डाँडामा चढ्ने गरेका थिए ।
यसअघी टु जी सेवा सञ्चालमा आएको ठाउँमा पनि नागरिकहरु फोनमा मात्र सिमित थिए । नेट, इन्टरनेटमा जोडिन पाएका थिएनन् । अब भने नागरिकलाई फोन गर्न र नेट, इन्टरनेटमा जोडिन सहज हुने नेपाल दुर सञ्चार कार्यालय रुकुम(पूर्व) ले बताएको छ । जिल्लामा यस अघि नै सञ्चालनमा रहेका टावरहरुमध्येमा मैकोटमा मात्र फोर जी सेवा सुचारु गर्न नसकिएको बताइएको छ । अन्य सबै ठाउँमा फोर जी सेवा सुरु गरिएको कार्यालयका प्रमुख यादवले बताउनुभयो । मैकोटमा फोर जी सेवा सुचारुको लागि सामान आउन बाकि रहेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार अब सिस्ने ६ को खोपिचार, ४ को दादिङ र भूमे गाउँपालिका ६ महतको टावर सञ्चालनमा आउन बाकी छन् । यी तीन ठाउँमा टावर निर्माण भइसकेको तर फोर जी सेवा सुचारुको लागि केहि इक्विपमेन्टहरु आउन बाकी रहेकाले सेवा सञ्चालनमा ल्याउन सकिएको छैन् । यी टावरलाई पनि चुनाव अघि सञ्चालनमा ल्याउने योजना रहेको कार्यालयले जनाएको छ । अब पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मा र तकसेरामा टावर निर्माण गर्न बाकि छ ।
पेल्मामा फाउन्डेसनको काम सकिएको छ भने तकसेरामा ढोरपाटन शिकार आरक्षको विवादका कारण टावर निर्माणको काम अघि बढाउन नसकेको बताइएको छ । जिल्लाको ७ वटा टावरबाट एक साताको अन्तरालमै फोर जी सेवा सुरु भएपछि यहाँका नागरिकहरु खुसी भएका छन् ।