रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर १ मा निर्माण भइरहेको लघुजलविद्युत आयोजनाको ९० प्रतीशत काम सम्पन्न भएको छ । सिस्नेको ओख्रनामा निर्माण भइरहेको ४६ किलोवाटको विद्युत आयोजनाको ९० प्रतीशत काम सकिएको हो । त्यहाँ सिस्ने गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको बजेट लगानीमा विद्युत आयोजना निर्माणको काम भइरहेको छ ।

स्थानीय र प्रदेश सरकारको गरी कुल एक करोड ५२ लाखमा गोक्यो इन्जिनीयरीङ एण्ड कन्स्ट्रक्सन प्राली पाल्पाले विद्युत आयोजना निर्माणको काम गरिरहेको छ । लामो समयपछि विद्युत आयोजना निर्माणको कामले पूर्णता पाउन लागेको प्रालीका प्रतीनिधी दिपक विसीले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले आयोजनाको पावरहाउस निर्माणदेखि लिएर पावरहाउसमा उपकरण जडान, पेनिस्टिक पाइप जडान, फोरवय ट्याङ्की निर्माण, नहर निर्माणलगाएतका कामहरु सकिएका छन् । अब मुहानमा ट्याङ्की निर्माण र पानी संकलन तथा परिक्षणको काम बाकि रहेको कम्पनीका प्रतीनिधी विसीले बताउनुभयो ।

केहि बाधा, अवरोध नआएमा र अहिलकै गतीमा काम भएमा अबको एक महिनाभित्रमा सबै काम पुरा गरेर बिजुली परिक्षण गरिने उहाँको भनाई छ । २०७७ फागुन १६ गते सम्झौता भइ काम सुरु गरेको कम्पनीले गएको आर्थिक वर्षको असार मसान्तमा काम सक्नुपर्ने थियो । तर निर्धारीत समयमा काम नसकिएपछि दुई पटक म्याद थप भएर अहिले काम भइरहेको छ । पहिलो पटक ६ महिनाको म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको समयमा पनि काम नसकिएपछि फेरी ६ महिना अर्थात चालु आर्थिक वर्षको असार मसान्तसम्मको म्याद थप गरेर काम गरिरहेको कम्पनीका प्रतीनिधी विसीले बताउनुभएको छ ।

विद्युत आयोजनाको काम समयमै सम्पन्न गर्ने भनेपनि कोभिडको कारण भएको लकडाउन, लकडाउनका कारण सामान ढुवानी हुन नसक्नु, सडक नपुगेको त्यस ठाउँमा हेलीकप्टरमार्फत सामान ढुवानी गर्नुपर्ने र हिउदयाममा हिमपात लगाएतको कारणले योजनाअनुसारको काम गर्न नसकेको विसीले बताउनुभयो । पछिल्लो समयमा थप भएको समयमा जसरी पनि विद्युत आयोजना निर्माणको काम सक्ने उहाँले बताउनुभएको छ । सिस्नेका नागरिक अहिले दियालोको भरमा जिविका चलाइरहेका छन् । अहिले निर्माण हुन लागेको विद्युत आयोजना नै सिस्ने १ नम्बर वडाको पहिलो विद्युत आयोजना हो ।

पाखा ओराली विद्युत आयोजनाले पूर्णता पाउन थालेसँगै १ नम्बर वडाका नागरिकहरु बिजुली बाल्न पाउने खुसीले निकै उत्साहित भएको सिस्ने गाउँपालिकाका प्रवक्ता जिवन केसीले बताउनुभयो ।