रुकुम(पूर्व) को सिस्ने गाउँपलिकाले पाँच वर्षे कार्यकालमा गरेको कामको प्रगती समिक्षा यहि चैत्र ३० गते गर्ने भएको छ । स्थानीय तहको चुनाव भई पदभार ग्रहण गरेदेखि चैत्र समान्तसम्म गरेको कार्यसम्पादनको प्रगती समिक्षा ३० गते निर्णय सोमबार गाउँपालिकामा बसेको ७८ औ कार्यपालिका बैठकले गरेको छ । साथै सोहि दिन चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई पनि गरिने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा यस पालिकामा निर्वाचन आयोगबाट तोकिएका मतदान केन्द्रहरुमा मतदान कार्य सुरक्षित, मयौदीत र व्यवस्थित गर्न मतदानस्थल वरपर सुरक्षाको लागि घेरबार, शौचालय, खानेपानी, बत्तिको व्यवस्था गर्ने निर्णय गरेको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनाको लागि गाउँपालिकाको स्वामित्वमा रहेको अतीथी गृह उपलब्ध गराउने र निर्वाचन आयोगले तोकेको मापदण्डअनुरुप सिसि क्यामेरा जडान गर्ने निर्णय गरिएको प्रवक्ता केसीले बताउनुभयो ।

यस्तै आगामी अर्थात आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमा गर्ने सिलसिलामा तयार पारिएको तीन वर्षे मध्यकालिन खर्च योजना स्विकृत गर्ने निर्णय गरिएको छ भने विधायन समितिबाट तयार पारिएको सुशासन कार्यविधी २०७८ र शहिद परिवारको सम्मानको लागि सेयर खरिद कार्यविधि २०७८ स्विकृत गरिएको छ । परामर्श सेवा कर्ताद्धारा तयार पारिएको पूर्वाधार समितिले पेश गरेको गाउँपालिकाको पंच वर्षिय नगर सडक गुरुयोजना स्विकृत गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको प्रवक्ता केसीले बताउनुभएको छ ।