रुकुम(पूर्व) को भूमे गाउँपालिकामा टोल टोलमा पुगेर पशुचौपायलाई पिपिआर खोप लगाउन सुरु गरिएको छ । गाउँपालिकाले मंगलबारबाट प्रत्येक टोलमा पुगेर भेडा र बाख्रालाई पिपिआर खोप लगाउन सुरु गरेको हो । मंगलबार पहिलो दिन मध्यपहाडि लोकमार्ग आसपासका टोलहरुमा पुगेर खोप लागइएको गाउँपालिका पशु शाखाका नायव प्राविधिक सहायक नारायण ओलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मंगलबार ९ सय बढी भेडा बाख्रालाई खोप लगाइएको छ । गाउँपालिका भित्रका ९ वटै वडाका सबै टोलमा पुगेर तीन महिनाभन्दा माथीका भेडा बाख्रालाई पिपिआर खोप लगाउने अभियान गाउँपालिकाको छ । मंगलबारबाट सुरु भएको यो अभियान वैशाख १० गतेसम्म चल्ने नाप्रास ओलीले बताउनुभयो ।

यस खोप अभियानमा प्राविधिकहरु ओलीसहित भूपेन्द्र शाही, भूपाल ओली, दिलकुमारी सुनार र जनम बुढामगर हुनुहुन्छ । बुधबार ४ र ५ नम्बर वडाका विभिन्न टोलमा पुगेर पिपिआर खोप अभियान सञ्चालन गर्ने ओलीले बताउनुभयो । यस खोपले भेडा बाख्रालाई पिपिआर रोग लाग्नबाट बचाउने गर्दछ ।