बिक्रम परियार/रुकुम(पूर्व)


डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले वन डढेलो नियन्त्रण सम्बन्धि एक हप्ते जनचेतनामुलक अभियान सुरु गरेको छ । वन डढेलो नियन्त्रण सप्ताहको अवसर पारी शनिबारबाट डढेलो नियन्त्रण सम्बन्धिको अभियान सुरु गरिएको हो । यो अभियान हप्ताभरी जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गरिने डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले जानकारी दिनुभयो ।

कार्यालयले एक हप्तासम्म डढेलो रोकथामको लागि र लागिहाले पनि अपनाउनुपर्ने सावधानिको बारेमा माइकीङ गरेर प्रचारप्रसार गर्ने र पर्चा पम्पलेटहरु टास्दै जनसमुदायलाई सुशुचित गराउने काम गर्ने छ । शनिबार अभियानको पहिलो दिन सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ रुकुमकोटबाट मध्यपहाडि लोकमार्ग हुँदै भूमे गाउँपालिकाको धौलापहिरा, सिसाघारी, खाबाङ, क्राँक्रि, लुकुम र पञ्चासेसम्म माइकीङ गर्नुका साथै डढेलो नियन्त्रण तथा लागिहाले पनि अपनाउनुपर्ने सावधानीहरु लेखिएको पर्चा पम्पेलेटहरु टास्ने काम गरिएको रेन्जर केसीले बताउनुभयो ।

अभियानको दोस्रो दिन आइतबार सिस्ने गाउँपालिकाको ४ नम्बर वडाको ढाँका, दादीङ, ७ नम्बर वडा हुँदै ८ नम्बर वडाको लम्पाकोटसम्म माइकीङ र पर्चा पम्पलेटहरु टास्ने काम गरिने डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । कार्यालयका अनुसार वैशाख ५ गतेबाट सव डिभिजन कार्यालय पुथाउत्तरगंगा गाउँपालिका ५ हुकाम र १० तकसेराबाट पनि अभियान सञ्चालनको लागि जनशक्ति परिचालन गरिने छ ।

रुकुम(पूर्व) मा पछिल्लो समयमा विभिन्न ठाउँमा आगलागी भइरहेका छन् । आगो र आगो लाग्ने सामानबाट बालबालिकालाई टाढै राख्न तथा सबैलाई सावधानी अपनाउन डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले अनुरोध गरेको छ । वन डढेलो नियन्त्रण सप्ताहलाई आ–आफ्नो जिल्लामा एक हप्तासम्म अभियानको रुपमा सञ्चालन गर्ने निर्देशनअनुसार रुकुम(पूर्व) मा पनि सप्ताहको सुरुवात गरिएको हो ।