नेकपा एमाले रुकुम(पूर्व) लाई तीन वटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ । आकांक्षी धेरै भएपछि जिल्ला कमिटीलाई उम्मेद्वारको टुङ्गो लगाउन सकस परेको हो । जिल्लामा पुथाउत्तरगंगा, भूमे र सिस्ने गरी तीन वटा गाउँपालिका र ३१ वटा वडा रहेका छन् ।

यी गाउँपालिकामा नेकपा एमालेलाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार छनौट गर्नेमा सकस भएको हो । सर्वसम्मत उम्मेदवार टुङ्गो लगाउनका लागि पालिका कमिटीलाई जिम्मा दिइएको थियो । तर उम्मेदवारका आकांक्षी धेरै भएपछि पार्टी गाउँ कमिटीले जिल्ला कमिटीलाई उम्मेदवार टुङ्गो लगाउनका लागि सिफारिस गरेको थियो ।

पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्षको लागि ४ जना र उपाध्यक्षको लागि ५ जना आकांक्षीहरु देखिएका छन् । भूमे गाउँपालिकामा अध्यक्षको लागि २ जना, उपाध्यक्षको लागि एक जना र सिस्ने गाउँपालिकामा अध्यक्षको लागि ४ जना, उपाध्यक्ष पदको लागि पनि ४ जना अकांक्षी देखिएको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ । पुथाउत्तरगंगामा अध्यक्ष पदका आकांक्षीहरू भागलाल बुढा, लक्ष्मीप्रसाद पुन, निर्माण बुढा र केसकुमारी तुलाचन रहनु भएको छ भने उपाध्यक्षका आकांक्षी मोहनभक्त बुढा, दन्त रोका, सरिता पुन, पञ्चमाया बुढा र धर्म घर्ती बुढा रहनु भएको छ ।

यसैगरी भूमेबाट पालिका अध्यक्षका लागि रुजिधन घर्ती र कमानसिङ डाँगी आकांक्षी हुनुहुन्छ भने उपाध्यक्षका लागि दिपा सुनारको मात्र दाबी परेको छ । सिस्नेबाट पालिका अध्यक्ष पदका लागि गोपाल रेउले, लिलामणि गौतम, बलबहादुर केसी र फत्तेकुमारी ओलीले दाबी गर्नु भएको छ । उपाध्यक्षमा हरिहर पौडेल, भावना बिसी, नुमेन्द्रा खड्का र विष्णु देवकोटाले दाबी गर्नु भएको छ ।

जिल्ला कमिटीले समेत उम्मेदवारको टुङ्गो लगाउन नसकेपछि अब आइतबार प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जानकारी दिनुभयो । अध्यक्ष र उपाध्यक्षका आकांक्षीहरू लामो समय देखि पार्टीमा योगदान दिएका नेताहरू भएको हुँदा जिल्ला कमिटीलाई उम्मेदवार टुङ्गो लगाउन सकस भएको अध्यक्ष ओलीले बताउनुभयो । वडाको हकमा भने कुनैमा टुङ्गो लागि सकेको र कुनैमा छलफल जारी रहेको अध्यक्ष ओलीको बताउनुभएको छ ।