युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा सञ्चालन गरिएको ड्राइभिङ तालिम सम्पन्न भएको छ । २ र ४ नम्बर वडाका बेरोजगार युवालाई लक्षित गरि सदरमुकाम रुकुमकोटमा आयोजना गरिएको एक महिने तालिमको आइतबार समापन गरिएको हो ।
गएको वर्ष चैत्रको १ गतेबाट रुकुमकोटमा जीप, कार, ट्याक्सी र एम्बुलेन्स जस्ता साना गाडी चलाउन चाहनेहरुको लागि एक महिने ड्राइभिङ सम्बन्धि सिप विकास तालिमको आयोजना गरिएको थियो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत बजेटले २२ जना युवालाई ड्राइभिङ तालिम प्रदान गरिएको लघुउद्यम विकास सहजकर्ता मदन विसीले जानकारी दिनुभयो ।
१० देखि १२ जनालाई तालिम दिने लक्ष्य राखिएको भएपनि तालिममा २२ जना यूवा सहभागि भएको उद्यम विकास सहजकर्ता विसीले बताउनुभयो । उहाँका अनुसार तालिममा सबैभन्दा बढि विदेशबाट फर्किएका र गाउँमा बेरोजगार बसिरहेका युवाहरुको सहभागीता रहेको थियो । रोजगारको कुरा गर्ने वित्तिकै सीपको कुरा आउँछ । ४ नम्बर वडाका युवाबाट ड्राईभिङ तालिमकै माग आएकाले उनिहरुको मागअनुसार ड्राईभिङ तालिम प्रदान गरेको उद्यम विकास सहजकर्ता विसीले बताउनुभयो ।
एक महिनासम्म सिप सिक्दा लाग्ने सम्पूर्ण शुल्क गाउँपालिकाले तिरेको छ । गाउँपालिकाको सहयोगमा ठूली भेरी इन्जिनिरिङ एण्ड टेकनिकल ट्रेनिङ बहु सेवा प्रा.ली शाखा कार्यालय रुकुमकोटले ड्राईभिङ तालिम सकिएको हो । तालिम समापन कार्यक्रममा आइतबार सहभागी सबैलाई गाउँपालिका अध्यक्ष कुमारी बराल र निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।