रुकुम(पूर्व) मा आसन्न स्थानीय तह चुनावमा गाउँपालिका अध्यक्षको लागि नेपाली कांग्रेसमा ९ जनाले दाबी गरेका छन् । जिल्लाको तीन वटै पालिकामा अध्यक्ष पदको लागि ९ जनाले दाबी गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जानकारी दिएको छ ।

वैशाखमा ३० मा हुन लागेको स्थानीय तह चुनावमा अध्यक्ष पदका लागि सिस्ने गाउँपालिकामा ४ जना, भूमे गाउँपालिकामा ३ जना र पुथाउत्तरगंगा गाउँपालिकामा दुई जनाले दाबी गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापती भिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार सिस्ने गाउँपालिकामा अध्यक्ष पदको लागि दत्तबहादुर बस्नेत, प्रकाश केसी, लक्षिराम घर्ती र शक्ति सेनको दाबी रहेको छ । उपाध्यक्षको लागि भने सिस्ने गाउँ कमिटीको सिफारिस नआएको उपसभापती खड्काले बताउनुभयो ।

भूमे गाउँपालिकामा नरेश बुढा, गन्जु सिंह बुढा र हर्क रोकाले अध्यक्ष पदको उम्मेद्वारको दाबी गर्नुभएको छ भने उपाध्यक्ष पदको लागि कमला खड्काको दाबी रहेको छ । पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष पदको उम्मेद्वारीमा तेजेन्द्र खाम र प्रताप मल्लको दाबी छ भने उपाध्यक्षको लागि रविना घर्तीको दाबी रहेको जिल्ला उपसभापती खड्काले बताउनुभयो । गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारको लागि ९ जनाले दाबी गरेपनि सहमतीबाटै सबै पालिकामा उम्मेद्वारको टुङ्गो लगाउने गरि छलफल जारि राखिएको उहाँको भनाई छ ।

वडा अध्यक्षका उम्मेद्वारहरुको टुङ्गो मंगलबार र पालिका अध्यक्ष पदका उम्मेद्वारहरुको टुङ्गो बुधबारसम्ममा जिल्लामै टुङ्ग्याउने गरि छलफल भइरहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम(पूर्व) ले जानकारी दिएको छ ।