
रुकुम(पूर्व) मा साढे १६ हजार बढी बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाएका छन् । देशव्यापी रुपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार पाँच सय ९८ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समुहका जिल्लाको लक्षित जनसंख्या १७ हजार एक सय ७७ रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिनुभयो । जिल्लामा लक्षित जनसंख्याको ९६.६३ प्रतिशत बालबालिकाले खोप लगाएको सुचना अधिकारी गिरीले बताउनुभयो । उहाँकाअनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८ सय ६० जना बालबालिका र २ देखि १५ वर्ष उमेरसमुहका १५ हजार ७ सय ३८ जना बालबालिकालाई खोप लगाइएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समुहका लक्षित बालबालिकाको संख्या ५ हजार पाँच सय ९१ रहेकोमा त्याहाँ एक सय दशमलव ५७ प्रतिशत अर्थात ५ हजार ६ सय २६ जना बालबालिकालाई खोप लगाइएको छ । पुथामा लक्षित जनसंख्या भन्दा बढीलाई खोप लगाइएको सुचना अधिकारी गिरीले बताउनुभयो । भूमे गाउँपालिकामा ५ हजार एक सय ५८ लक्षित खोप लगाउने बालबालिकाको संख्या भएकोमा त्यहाँ ९५.०२ प्रतिशत अर्थात ४ हजार ९ सय १ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जनाएको छ ।
सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको संख्या ६ हजार ४ सय २८ थियो । यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात ६ हजार ७४ जनालाई खोप लगाएको सुचना अधिकारी गिरीले बताउनुभयो । जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको थियो । तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकाहरुलाई खोप लगाइरहेको उहाँको भनाई छ ।
रुकुम(पूर्व) मा २ सय ९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको हो ।