डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले डढेलो नियन्त्रणका सामाग्री हस्तान्त्रण गरेको छ । मंगलबार डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले जिल्ला स्थित तीन वटै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरेको हो ।

आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी नै अग्रपंक्तिमा खटिने हुँदा उनिहरुलाई डढेलो नियन्त्रणका लागि सामाग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । सुख्खायाममा वन डढेलोका घटना बढी हुने भएकोले समुदायले आफ्नो वन आफैँ जोगाउन विशेष ध्यान दिनु पर्ने खड्काको भनाइ छ ।

मान्छे स्वयम् आफैँले ध्यान र सजकता अपनाउन नसक्दा आगलागीका घटना हुने भएकाले आगोजन्य सामाग्रीलाई सुख्खायाममा बढी सतर्कता अपनाउन जिल्लाबासीलाई निमित्त डिभिजनल वन अधिकृत खड्काले अपिल गर्नुभयो । डढेलो नियन्त्रणका लागि विभिन्न १२ प्रकारका सामाग्री तीन वटै सुरक्षा निकायलाई समान रूपमा हस्तान्तरण गरिएको छ । प्रति सुरक्षा निकायलाई रेकर ६ वटा, स्वाटर ९, जम्प सुट ९, ब्याकअप वाटर पम्प १, बेल्चा ३, लाइट ९, टुमलेट ९, जुत्ता ९, मोजा ९, ग्लोब्स ९, मास्क ९ र हेल्मेट ९ वटाका दरमा सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले आगलागीका घटना भएमा सम्बन्धित ठाउँबाट आगलागी नियन्त्रण र उद्धारमा तीन वटै सुरक्षा निकाय प्रतिवद्ध रहेको बताउनुभयो । घटना भइ सकेपछि सतर्कता अपनाउनु भन्दा पनि घटना नै हुन नदिनमा स्थानीयबासीले ख्याल राख्नु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।