रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगंज बाकेको आर्थिक सहयोग, इनोभेटिभ प्लानिङ एण्ड डेभलपमेन्ट सुलिचौर रोल्पाको सहजिकरण र सिस्ने गाउँपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम भएको हो । गाउँपालिका भित्र विभिन्न शाखामा कार्यरत कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ ।
देशका कतिपय कार्यालयमा यौनजन्य दुव्र्यवहारका घटना भइरहेको पाइएको हुदाँ यस्ता कार्यलाई रोक्न सिस्ने गाउँपालिकामा पनि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको इनोभेटिभ प्लानिङ एण्ड डेभलपमेन्ट सुलिचौर रोल्पाका निर्देशक तथा कार्यक्रमका प्रशिक्षक हेमराज पोखरेलले जानकारी दिनुभयो । सार्वजनिक पदमा रहेका व्यक्तिलाई लैंगिक हिंसाको बारेमा थाहा दिदा त्यो जानकारी नागरिक तहसम्म पुग्ने हुदाँ पनि सिस्नेका कर्मचारीलाई अभिमुखिकरण गरिएको उहाँको भनाई छ ।
पोखरेलका अनुसार लुम्बिनी प्रदेशका ३ जिल्ला रुकुम(पूर्व), रोल्पा र प्युठानमा अभिमुखिकरण कार्यक्रम गरिने छ । जसमध्य रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा आज अभिमुखीकरण सकिएको छ । अव रोल्पाको रोल्पा नगरपालिका र सुनिल स्मृति गाउँपालिका, प्युठानको गौमुखि गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा केहि दिनमा अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने पोखरेलले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा हिंसा के हो ? लैंगिक हिंसा भनेको के हो ? लैंगिक हिंसाको स्वरुप, विश्वमा लैंगिक हिंसाको परिवेश, यौजन्य दुव्र्यवहार भनेको के हो ? शारीरिक संरचना वा अवस्थिति, लैंगिकताले अल्मलिएको अवधारणा लगायतको विषयमा प्रशिक्षक पोखरेलले प्रशिक्षण दिनुभएको थियो । यस्तै मुलुकी अपराध संहिता अनुसार कस्तो कार्य गरेमा यौन दुव्र्यवहार गरेको मानिन्छ ? यौनजन्य आक्रमण र हैरानी, अवधारणा गत विकास, लैंगिक हिंसा र कार्यस्थलमा हुने यौनजन्य हिंसाको कानुनी व्यवस्था, नागरिक अधिकारसम्बन्धि व्यवस्था, मुलुकी अपराध संहिता २०७४, हिंसा भए उजुरी दिने व्यवस्था लगायत संविधानमा भएका कानुनी प्रावधानका विषयमा पनि जानकारी गराइएको थियो ।
गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढाको अध्यक्षतामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा इनोभेटिभ प्लानिङ एण्ड डेभलपमेन्ट सुलिचौर रोल्पाका निर्देशक हेमराज पोखरेल र सहजकर्ता खगेन्द्र विष्टले प्रशिक्षण दिनुभएको थियो । अभिमुखिकरण कार्यक्रममा कार्यपालिका सदस्य भद्रि थापा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल लगायत विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।