रुकुम(पूर्व) मा जनता समाजवादी पार्टी जसपाबाट बाबुछोराको मनोनयन दर्ता भएको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावको लागि जसपाबाट सिस्ने गाउँपालिका अध्यक्ष पदमा उपेन्द्रलाल कामीको मनोनयन दर्ता भएको छ । यस्तै सिस्नेकै ६ नम्बर वडामा अध्यक्ष पदको लागि उपेन्द्रलालका छोरा विशाल गिरीको मनोनयन दर्ता भएको छ । जसपाले सिस्नेको पालिकामा बाबु र ६ नम्बर वडामा छोरालाई अध्यक्ष पदको लागि अघि सारेको हो ।

उपेन्द्रलाल कामी जसपाका केन्द्रिय सदस्यसमेत हुनुहुन्छ । यस्तै जसपाले सिस्नेमा तालमेलको लागि कसैसँग कुरा मिल्ने भनेर उपाध्यक्ष पद खाली राखेको थियो । अन्तिमसम्म छलफल गर्दा अन्य दलसँग कुरा नमिलेपछि अन्य दलसँग तालमेल नभएको र पार्टीबाट उपाध्यक्षको टुङ्गो पनि नलागेको बताइएको छ । यस्तै सिस्नेको ३ नम्बर वडाबाट अध्यक्षको लागि तेजेन्द्र खड्का, ५ बाट बलबहादुर छिनाल भनिने मंले दमाइले मनोनयन दर्ता गराउनुभएको छ । यी वडामा सदस्यहरु र अन्य वडामा अध्यक्ष, सदस्यहरु कसैको पनि मनोनयन दर्ता नगराएको जसपा रुकुम(पूर्व) ले बताएको छ ।

यस्तै जसपाले भूमे गाउँपालिकामा १ नम्बर वडामा अध्यक्षको लागि सतमान पुनलाई अघि सारेको छ । उहाँको मनोनयन दर्ता भएको छ । भूमेमा पालिका र अन्य वडामा जसपाले उम्मेद्वार उठाएको छैन् । पुथाउत्तरगंगा गाउँपालिकामा पनि जसपाले पालिका अध्यक्ष र दुई वटा वडामा मात्र उम्मद्वार उठाएको छ । त्यहाँ पालिका अध्यक्षको लागि राखिमान घर्ती, ५ नम्बर वडाध्यको लागि अशोक घर्ती मगर र १० नम्बर वडाबाट अध्यक्षको लागि सिरबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ ।