वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावको लागि रुकुम(पूर्व) को पालिकामा अध्यक्षमा १५ र उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेद्वारी दर्ता भएको छ । तीन वटा गाउँपालिका रहेको यस जिल्लाको सिस्ने गाउँपालिकामा ४ जनाको पालिका अध्यक्ष र ३ जनाको पालिका उपाध्यक्षमा उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सिस्ने गाउँपालिकामा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रबाट कृष्ण रेग्मि, नेपाली कांग्रेसबाट दत्तबहादुर बस्नेत, राप्रपा नेपालबाट सुधिर बिक्रम शाही र नेपाल मजदुर किसान पार्टीबाट काले खड्काको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । उहाँकाअनुसार उपाध्यक्ष पदको लागि सिस्नेमा एमालेबाट गोपाल रेउले, माओवादीबाट आस्था विक र स्वतन्त्रबाट भावना बुढाथोकीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यस्तै भूमे गाउँपालिकामा अध्यक्ष पदको लागि ४ र उपाध्यक्षको लागि ३ जनाको मनोनय दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भूमेमा माओवादी केन्द्रबाट होमप्रकाश श्रेष्ठ, कांग्रेसबाट भिमबहादुर ओली, राष्ट्रिय जनमोर्चाबाट कमान पुन र मंगोल अर्गनाइजेसनबाट रतन बुढाले पालिका अध्यक्षको लागि उम्मेद्वारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत बिमलप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमेको उपाध्यक्षको लागि माओवादीबाट सविना बुढा, एमालेबाट कमानसिंह डाँगी र स्वतन्त्रबाट नमिता पुनले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष पदको लागि ७ जना र उपाध्यक्ष पदको लागि ३ जनाको उम्मेद्वारी दर्ता भएको छ । पुथामा अध्यक्षको लागि माओवादीबाट पुनीराज घर्ती, कांग्रेसबाट तेजेन्द्र खाम, राप्रपाबाट भरदया पुन, जसपाबाट राखीमान घर्ती, एमालेबाट बाघलाल बुढा र स्वतन्त्रबाट जिताराम कामी र महेन्द्र बुढाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत नारायणप्रसाद चाँपागाइले जानकारी दिनुभयो । उहाँकाअनुसार पुथा उत्तरगंगामा उपाध्यक्ष पदको लागि माओवादीबाट भूपेन्द्र बुढा, एमालेबाट धर्म घर्ती बुढा र कांग्रेसबाट कमला कुमारी मल्लले उम्मेद्वार दर्ता गराउनुभएको छ ।
रुकुम(पूर्व) को भूमे र सिस्ने गाउँपालिकामा नेकपा एमाले र कांग्रेसले गठबन्धन गरेका छन् ।