वैशाख ३० मा हुन लागेको स्थानीय तह चुनावको लागि रुकुम(पूर्व) मा ३ सय ९८ जनाले मनोनयन दर्ता गराएका छन् । तीन पालिका र ३१ वटा वडा रहेको यस जिल्लामा आवश्यक पद एक सय ६१ रहेकोमा ३ सय ९८ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) जानकारी दिएको छ । निर्वाचन कार्यालयकाअनुसार तीन पालिकाको अध्यक्ष पदमा १५ जना, उपाध्यक्षमा ९ जना, वडाध्यक्ष पदको लागि ८० जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार महिला सदस्यमा ९६ जना, दलित महिला सदस्यको लागि ७२ जना र खुला सदस्यको लागि एक सय २६ जनाको उम्मेद्वारी परेको छ । जसमा ८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा पालिका अध्यक्षको लागि ४ जना, उपाध्यक्षको लागि ३ जना, वडाध्यक्षको लागि २५ जना, महिला सदस्यको लागि ४५ जना, दलित महिला सदस्यको लागि २१ र खुला सदस्यको लागि ६४ जना गरी एक सय १९ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकारी ओलीले बताउनुभयो । यस्तै ९ वटा वडा रहेको भूमे गाउँपालिकामा पालिका अध्यक्षको लागि ४ जना, उपाध्यक्षको लागि ३ जना, वडाध्यक्षमा २२ जना, महिला सदस्यमा २० जना, दलित महिला सदस्यमा २० जना र खुला सदस्यमा ४१ जना गरी एक सय १० जनाको उम्मेद्वारी परेको छ ।

१४ वटा वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा पालिका अध्यक्षको लागि ७ जना, उपाध्यक्षको लागि ३ जनाको उम्मेद्वारी परेको छ भने वडाध्यक्षको लागि ३३ जना, महिला सदस्यको लागि ३१ जना, दलित महिला सदस्यको लागि ३१ जना, खुला सदस्य ६४ जना गरी जम्मा एक सय ६९ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकारी ओलीले जानकारी दिनुभएको छ ।