रुकुम(पूर्व) मा मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध कसैको पनि उजुरी परेको छैन । आयोगले आगामी वैशाख ३० गते हुने पालिका निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरु विरुद्ध उजुरी दिनका लागि १३ गतेको मिति तोकेको थियो । सो अवधिमा जिल्लामा कसैको पनि उजुरी नपरेको हो ।

स्थानीय तहको निर्वाचन २०७९ को कार्यतालिका बमोजिम मनोनयन दर्ता उम्मेदवार उपर कुनै पनि उजुरी नपरेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । आज र भोलि मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने कार्यतालिका रहेको ओलीले बताउनुभयो ।

बिहिवार अर्थात १५ गते बेलुकी पाँच बजे सम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।