वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावमा रुकुम(पूर्व) सिस्ने गाउँपालिका अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएका एक जनाको मनोनयनपत्र खारेज भएको छ । जनता समाजवादी पार्टी जसपाबाट सिस्ने गाउँपालिका अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएका उपेन्द्रलाल कामीको मनोनयनपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज खारेज गरेको हो ।

सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । मुख्य निर्वाचन अधिकृृत सनतचन्द्र लवटद्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ, “पालिका अध्यक्षका उम्मेद्वार कामी समानुपातीक निर्वाचन प्रणालीतर्फको उम्मेद्वारको बन्दसूचिमा नाम कायम रहेको देखिन आएकाले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ३२ (ण) बमोजिम निजको मनोनयन पत्र अस्विकृत÷खारेज गर्ने निर्णय गरिएको कुरा सबैमा जानकारी गराइन्छ ।”

यस्तै जिल्लाको तीन वटै पालिकामा उम्मेद्वारी दिएका अन्य सबैको भने मनोनयन पत्र सदर गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।