रुकुम(पूर्व) को भूमे गाउँपालिकामा अध्यक्ष पदको लागि मनोनयन दर्ता गराउनुभएका एक जनाले उम्मेद्वारी फिर्ता लिनुभएको छ । भूमेमा एमाले–कांग्रेसको गठबन्धनको तर्फबाट अध्यक्ष पदको लागि मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेसका भिमबहादुर ओलीले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको भूमे गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
अध्यक्षमा कांग्रेसका ओलीले उम्मेद्वारी दिदा उपाध्यक्षमा एमालेका कमानसिङ डाँगीले उम्मेदवारी दिनुभएको थियो । गठबन्धन गरेकाले कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएको थिएन । अब गठबन्धनका तर्फबाट एमालेका कमानसिङ डाँगीको मात्रै उपाध्यक्षमा उम्मेदवारी छ । योसँगै भूमे गाउँपालिका नेपाली कांग्रेस उम्मेद्वार विहिन बनेको छ ।
अब भूमे गाउँपालिकामा माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेश्नल अर्गनाइजेशनका रतन पुनको मात्रै उम्मेदवारी छ । ओलीले पार्टीमा छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताउनुभयो ।