रुकुम(पूर्व) मा तीन पालिका अध्यक्षका उम्मेद्वारसहित १३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि गएको ११ र १२ गते मनोनयन दर्ता गराएका १३ जनाले शुक्रबार आफ्नो नाम फिर्ता लिएका हुन् । उम्मेद्वारबाट नाम फिर्ता लिनेमा भूमे गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनबाट पालिका अध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएका भिमबहादुर ओली रहनुभएको छ ।

यस्तै भूमेमै स्वतन्त्रबाट पालिका उपाध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएकी नमिता पुनले पनि उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमेको वडा नम्बर ३ मा महिला सदस्य विष्णु रोका भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ । रोेका माओवादी केन्द्रबाट वडा सदस्यमा उठ्नुभएको थियो ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा पालिका अध्यक्ष दुई जनासहित ४ जनाले उम्मेद्वारी फिर्ता लिनुभएको छ । त्यहाँ पालिका अध्यक्षको लागि स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएका जिताराम कामी, महेन्द्र बुढाले उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत नारायणप्रसाद चापाँगाइले जानकारी दिनुभयो । उहाँकाअनुसार वडा नम्बर ४ को वडाध्यक्षको लागि स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएका अमर सिं पुन र १२ नम्बर वडामा एमालेबाट वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएका जोखबहादुर पुनले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

यस्तै सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । यस गाउँपालिकामा पालिका उपाध्यक्षको लागि स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएका भावना बुढढाथोकी, जनता समाजवादी पार्टीबाट ५ नम्बर वडाध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएका मंले दमाई, एमालेबाट ५ नम्बर वडाकै वडाध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएका ओमप्रकाश थापाले उम्मेद्वारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । उहाँकाअनुसार ५ नम्बर वडामै एमालेबाट महिला वडा सदस्यमा उम्मेद्वार दिनुभएकी मिना सुनार, दलित महिला वडा सदस्य धनकुमारी दमाई, वडा सदस्य मान बहादुर बुढाथोकी र बसन्त मल्लले उम्मेद्वारी फिर्ता लिनुभएको छ ।