रुकुम(पूर्व) मा विभिन्न राजनितीक दलबाट र स्वतन्त्रबाट उम्मेद्वार बनेकाहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ । जिल्लास्थित चुनावमा भाग लिएका सानाठुला गरि ९ वटा राजनितीक दलबाट उम्मेद्वार बनेकाहरुलाई चुनाव चिह्न् प्रदान गरिएको हो । यस्तै स्वतन्त्र उम्मेद्वारलाई पनि चुनाव चिह्न् प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।
जिल्लामा ठुला दल नेकपा माओवादी केन्द्र, एमाले, कांग्रेस, जसपा र एकिकृत समाजवादी पार्टी गरि ५ वटा छन् । यस्तै चुनावमा भाग लिनको लागि ७ वटा साना दलले यसअघि जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाएका थिए । विवरण बुझाएका साना ७ दल मध्येमा ४ वटा दलले मात्र चुनावमा भाग लिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । साना दल ४ वटा र ठुला दल ५ वटा गरि ९ वटा दलले चुनावमा भाग लिएको र उनिहरुलाई आ–आफुनो चुनाव चिन्ह प्रदान गरेको निर्वाचन अधिकारी ओलीले बताउनुभएको छ ।
उहाँकाअनुसार निर्वाचनमा भाग लिने साना दलमा राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मंगोल अर्गनाइजेसन र राष्ट्रिय जनमोर्चा पार्टीले चुनावमा भाग लिएका छन् । निर्वाचन कार्यालयमा विवरण बुझाएर पनि चुनावमा भाग नलिने दलहरु राप्रपा नेपाल, उन्नत लोकतन्त्र पार्टी र सामाजिक एकता पार्टी रहेको निर्वाचन अधिकारी ओलीले ताउनुभयो । जिल्लाको विभिन्न पालिकामा स्वतन्त्र उम्मेद्वारीले शुक्रबार नाम फिर्ता लिएका थिए ।
सिस्ने गाउँपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षको लागि स्वतन्त्रबाट उठेका उम्मेद्वार जयबहादुर मल्ललाई चुनाव चिह्न खरायो प्रदान गरिएको पनि निर्वाचन अधिकारी ओलीले बताउनुभएको छ । सिस्ने ५ मा स्वतन्त्रबाट वडाध्यक्षमा मल्लसँगै दलित महिला सदस्यमा चन्द्रकुुमारी दमाई र वडा सदस्यमा कमलसिंह ठकुरी पनि स्वतन्त्रबाट उठ्नुभएको छ । उहाँहरु तीन जना चुनावमा खरायो चिन्हबाट चुनाव लड्ने बताइएको छ ।