वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रुकुम(पूर्व) मा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिका र ३१ वटा वडामा वैशाख ११ र १२ गते ३ सय ९८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । पछि १३ जनाले उम्मेद्वारी फिर्ता लिदा अहिले ३ सय ८४ जना चुनावी मैदानमा उत्रिएका छन् । भूमे गाउँपालिका ३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । पालिका र वडामा आवश्यक पद भने एक सय ६१ रहेको छ ।

रुकुम(पुर्व) को एउटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र दुई वटा निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन् । यस जिल्लामा साना ठुला गरि ९ वटा राजनितीक दलले चुनावमा भाग लिएका छन् । यही ११ र १२ गते उम्मेददवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । रुकुम(पूर्व) मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मंगोल अर्गनाइजेसन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले उमेदवारको मनोनयन बुझाएको निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचनको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् । निर्वाचन लक्षित जिल्लाको विभिन्न ठाउँमा सुरक्षा निकाय खटिने क्रम जारी रहेको छ । रुकुम(पूर्व) को तीन गाउँपालिका क्षेत्रमा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र रहेका छन् ।