वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि देशैभरि प्रचारप्रसार, दौडधूप अनि घोषणा पत्र सार्वजनिक लगाएतका काममा राजनितीक दल र उम्मेद्वारहरु व्यस्त देखिन्छन् । यहि क्रम रुकुम(पूर्व) मा पनि चलिरहेको छ । चुनावी प्रचारप्रसार अभियानकै क्रममा सिस्ने गाउँपालिका वडा नम्बर ४ मा पनि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले प्रचारप्रसार अभियान सञ्चालन गरिरहेका छन् ।

त्यहाँ माओवादी र कांग्रेसले आ–आफ्नो कार्ययोजना एवम् घोषणापत्र सहित चुनावी प्रचारप्रसार गरिरहदा नेकपा एमालेले भने नागरिकलाई विभिन्न भ्रममा पार्ने काम गरिरहेको पाइएको छ । ४ नम्बर वडामा एमालेले ज्येष्ठ नागरिक र अशिक्षित वर्गका नागरिकलाई लक्षित गरेर भ्रमपूर्ण रुपले चुनावी अभियान सञ्चालन गरिरहेको पाइएको छ । नाम गोप्य राख्ने शर्तमा त्यहाँका एक ज्ेष्ठ नागरिकले भन्नुभयो, “वैशाख ३० मा हुने स्थानीय तहको चुुनावमा सुर्य चिन्हमा मतदान नगरि अन्य दललाई मतदान गरे अहिले पाइरहेको वृद्धभत्ता कटौती हुन्छ भनेर एमालेको प्रचार गर्न आएका मानिसले भनेका छन् ।”

उहाँले थप्नुभयो, “त्यति मात्रै कहाँ होर चुनावमा एमालेलाई नै भोट हाल्छु भनेर कुखुरा काटेर रक्तिहात गर्नुपर्छ, नत्र सामाजिक सुरक्षा भत्ता आउदैन भनेर गए ।” ४ नम्बर वडामा एमालेले आचारसंहिता विपरित प्रचारप्रसार गर्दै हिडेको त्यहाँका स्थानीयले बताएका छन् ।

बितेको ५ वर्षे कार्यकालमा एमालेले जितेको यो ४ नम्बर वडामा युवा जनशक्ति, वडाले दिने सेवा सुविधाहरु जस्तै च्याउको बिउ बाँडफाँड, प्रधानमन्त्री रोजगार कार्यक्रम अव्यवस्थित रुपमा सञ्चालन, सुचनापत्र नटाँसि आफ्ना कार्यकर्तालाई मात्रै फोन गरेर एकलौटीपन गर्दै आएको आरोप नागरिकले यस अघि पनि लगाएका थिए । पाँच वर्षे कार्यकालमा वडा सरकारले गरेको कामले नागरिक असन्तुष्ट भएपछि एमाले आत्तिएर यो सव हर्कत गरिरहेको नेकपा माओवादी केन्द्र सिस्ने ४ ले बताएको छ ।