रुकुम(पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपत्रसँगै निर्वाचनको लागि आवश्यक सामाग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।
निर्वाचन सामग्री जिल्लामा आइपुगेसँगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्र रुपमा अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली पनि प्रकाशन गरिसकिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि २२ गते रुकुमकोटमा रहेको रुक्मिणी माध्यामिक विद्यालयको हलमा तालिम सञ्चालन हुने भएको छ । यस्तै जिल्लाामा मतदाता परिचय पत्र पनि आइपुगेका छन् ।
जिल्लामा आएका मतपत्र, मतदाता परिचय पत्रसँगै अन्य सामाग्रीहरु चुनाव हुनुभन्दा तिन दिन अघि नै सबै मतदान केन्द्रमा पुर्याइसक्ने निर्वाचन अधिकारी ओलीले बताउनुभयो । उहाँकाअनुसार अहिले भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ भने अन्य सामाग्रीहरु जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ । जिल्लामा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा ३३ हजार पाँच सय १८ मतदाता संख्या रहेको छ ।
जसमा महिला १६ हजार ४६ सय २४ जना र पुरुष मतदाताको संख्या १६ हजजार ८ सय ९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूव) ले जानकारी दिएको छ ।