वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै रुकुम(पूर्व) मा बिहिबार (भोली) देखि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सञ्चालन हुँदै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १९ गते नै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली प्रकाशन गरेको थियो । उनिहरुलाई तालिम दिने समयले च्याप्दै ल्याउदासम्म पनि कतीपय मतदान अधिकृत र सहायक मतदान अधिकृत सम्पर्क विहिन अवस्थामै छन् ।

जिल्लामा एक साता यता टेलिफोनमा देखिएको समस्ययाका कारण सबै ठाउँमा सुचना प्रवाह गर्न र उनिहरुलाई सम्पर्कमा ल्याउन सकस परेको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । मतदान केन्द्रमा खटिने मतदान अधिकृत ५३ जना र सहायक मतदान अधिकृत ४९ जनाको सूचि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेपनी जिल्लामा देखिएको टेलिफोन समस्याले गर्दा सबै सम्पर्कमा आउन नसेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको सूचि सम्बन्धित निर्वाचन कार्यालयमा पठाइसकेको कारण पालिकासँगै रुकुमकोटस्थित विभिन्न कार्यालयका कर्मचारीहरु भने सम्पर्कमा आइसकेका छन् । तर मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा खटिएका कतीपय शिक्षकहरु भने सम्पर्कमा नभएको निर्वाचन अधिकारी ओलीले बताउनुभयो । टेलिफोन समस्याको कारण सुचना प्रवाह हुन नसक्दा केहि मतदान अधिकृत र सहायक मतदान अधिकृत तालिमा छुट्न सक्ने डर रहेको उहाँले बताउनुभयो ।

सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विभिन्न माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताउनुभएको छ ।