रुकुम(पूर्व) मा राजनितीक दलहरुले आचारसंहिताको उल्लघंन गरेका छन् । जिल्लास्थित विभिन्न राजनितीक दलहरुले आचारसंहिताको ख्यालै नगरी चुनावी प्रचाारप्रसार गरेको पाइएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटको संयोजकत्वमा रहेको जिल्ला निर्वाचन अनुगमण समितिले अनुगमन गर्दा राजनितीक दलहरुले आचारसंहिता पालना नगरेको पाइएको हो ।

मंगलबार जिल्ला निर्वाचन अनुगमण समितिले भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा अनुगमण गर्दा राजनितिक दलहरुले आचारसंहिता पालना नगरेको र पालिकामा रहेको स्थानीय तह निर्वाचन अनुगमण समितिले पनि अनुगमणको पाटोमा चासो नदेखाएको पाइएको जिल्ला निर्वाचन अनुगमण समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत लवटले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमे गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ खाबाङ सहित वडा नम्बर ६ को महत र वडा नम्बर ९ को चुनबाङमा अनुगमण गरिएको थियो ।

अनुगमणको क्रममा निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँको आसपासकै सार्वजनिक स्थल विद्युतको पोललगाएतका अन्य ठाउँहरुमा सबैभन्दा धेरै विभिन्न दलहरुले झण्डा राखेको पाइएको छ । यस्तै गाडी, अटो, मोटरसाइकल, ट्याक्टरमा झण्डा राखेर प्रचारप्रसार गरिरहेको पाइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । यस्तै महत, चुनबाङ्मा पनि गाडी, मोटरसाइकल, ट्याक्टरमा झण्डा राखेर राजनितिक दलले चुनाव प्रचार गरिरहेका थिए भने सार्वजनिक स्थलमा पनि झण्डाहरु थिए । निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन अनुगमण समितिले प्रभावकारी रुपमा अनुगमण नगर्दा दलहरुले आाचारसंहिता विपरित प्रचारप्रसार गर्दै हिडेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

जिल्ला निर्वाचन अनुगमण समितिले राजनितिक दल र उम्मेद्वारलाई भनेर गाडी, मोटरसाइकल, अटो, ट्याक्टरमा राखिएका सबै झण्डा हटाउन लगाएको छ भने विद्युतको पोललगाएत सार्वजनिक स्थलमा राखिएका झण्डा, पोष्टरहरु हटाउन लगाएको छ । व्यक्तिको निजि ठाउँमा उनिहरुकै अनुमतीमा राखिएका झण्डा तथा पोष्टरहरु भने नहटाएको अनुगमण टोलीले जनाएको छ । भूमेमा निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसार गर्नेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी रहेको बताइएको छ ।

सिस्ने गाउँपालिकामा भने सबै राजनितिक दलहरुले निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा पनि निर्वाचन आचारसंहिताको पालना के कसो भइरहेको छ भनेर अनुगमण गर्न जाने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । साथै मुख्य निर्वाचन अधिकृत लवटले जिल्लास्थित सबै राजनीतिक दललाई निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै चुनाव प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनितीक दलले यतिबेला चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।