
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा शैक्षिक उत्थान अक्षय कोष स्थापना गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ माईति घर भइ हाल मुसिकोट नगरपालिका रुकुम –पश्चिम) मा बसोबास गर्दै आउनुभएकी बिजया शर्माले स्वर्गिय आमाबुवाको नाममा अक्षय कोष स्थापाना गर्नु भएको हो ।
स्वर्गिय बुवा शंकरप्रसाद शर्माको ३३ औ पुण्यतिथीको अवसरमा बुवा र आमा तिलसरी शर्माको सम्झना, सम्मानमा माईली छोरी बिजयाले रुक्मिणी माविमा एक लाखको अक्षय कोष स्थापना गर्नुभएको हो । विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहायोग पुुगोस भन्ने हेतुले कोष स्थापना गरि उहाँले आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापकलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको छ । हरेक छोरीहरुलाई पढाउनु पर्छ, छोरीहरुलाई पनि सचेत गराउनु पर्छ भन्ने भावना बोकेका बुवाआमाको आत्मसन्तुष्टिका लागि अक्षयकोष स्थापना गरेको अक्षयकोषका संस्थापक शर्माले बताउनु भयो ।
जेहेन्दार विद्यार्थीहरुलाई सिकाईमा प्रोत्साहित गर्नु, आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुलाई सिकाइमा प्रोत्साहन गर्न तथा स्वर्गिय बुवा आमाको नाम वर्षौसम्म ताजा राख्ने उद्धेश्यका साथ अक्षयकोष स्थापना गरिएको उहाँको भनाई छ । यस्तै अक्षयकोष शुभारम्भ कार्यक्रममा शंकरप्रसाद शर्माका कान्छा छोरा लिलामणी गौतमले माईली दिदीले गरेको कामप्रति कृतज्ञता ज्ञापन गर्दै यहि वर्ष भित्र उक्त कोषलाई बढाएर ५ लाख सम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको अक्षय कोष स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै अक्षयकोषका सल्लाहकार चुडामणी गौतमको विशेष आतिथ्यता रहेको कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम, अक्षयकोष संस्थापक बिजया शर्मा, सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नरेन्द्र ओली, शिक्षक विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक घनश्याम दाहालले गर्नु भएको थियो ।