
रुकुम(पूर्व) मा वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ वटा मतदान स्थलको ४९ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । तालिम आज सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माविको हलमा सञ्चालन भएको हो ।
तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुराहरु सिकाइएको छ । उनिहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । उहाँकाअनुसार मतपेटिकाहरु राख्ने ठाउँ, रुजु गर्ने लगायत मतदान कार्यलाई ब्यवस्थित गर्ने तरिकाको बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नु अघि र पुगेपछि गर्नुपर्ने कामहरु, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्ने लगाएतका विषमा तालिममा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो ।
निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने बिषयमा तालिम दिईएको छ । तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत बिमलप्रसाद बराल, पुथाउत्तरगंगा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागाँई, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गर्नुभएको थियो ।
तीन वटा गाउँपालिका रहेको यस जिल्लामा ३३ हजार पाँच सय १८ मतदाता संख्या रहेको छ । जसमा महिला १६ हजार ६ सय २४ जना र पुरुष मतदाताको संख्या १६ हजजार ८ सय ९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूव) ले जानकारी दिएको छ ।