रुकुम(पूर्व) मा नमुना मतदान गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लामा नमुना मतदान गरिएको हो । शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमूना मतदान गराएको हो ।
मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो । नमूना मतदातमा महिला÷पुरुष गरी ४० जना सहभागी थिए । सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो । मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नमूना मतदान गरिएको ओलीको भनाइ रहेको छ ।
साथै महिला, पुरुषको लाग्ने लाइन तथा अशक्त व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान गर्नमा कानुनले दिएको सहायता सम्बन्धि नमूना पनि देखाइएको छ । मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउने देखि बाकसमा खसाउने र मत गणना सम्मको प्रक्रियाका बारेमा सिकाइएको थियो ।
नमूना मतदान कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।