
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिस्ने गाउँपालिका ८ नम्बर वडा अध्यक्षका उम्मेद्धार गोपाल पुनले आफुले पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । वडाको केन्द्र धपेमा माओबादि केन्द्रले आज आयोजना गरेको चुनावी सभामा पुनले वडाको घोषणापत्र सार्वजनिक गर्दै सेवा सुविधा नलिने प्रतिवद्धता जनाउनु भएको हो ।
वडाको घोषणापत्र सार्वजनिक गर्ने क्रममा उम्मेद्धार पुनले आफुले पाउने सेवा सुविधाबाट अाएकाे रकम शिक्षामा खर्च गर्ने बताउनुुभयो । “मेरो कार्यकालमा मैले पाउने सेवा सुविधाबाट अाएकाे रकम बालबालिकाको पढाईमा खर्च गर्ने छु”, उम्मेद्धार पुनले भन्नुभयो, “म केहि नयाँ र जनमुखि काम गर्ने सोचमा छु । मेरो सेवा सुविधाबाट अाएकाे रकम असाहय, गरिव र विपन्न बालबालिकाको पढाईमा खर्च हुनेछ ।” आर्थिक अभावका कारणले विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पुग्ने वातावरण बनाउन सेवा सुविधा वापतकाे रकम खर्च गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।
वडा भित्र रहेका सवै सामुदायिक विद्यालयको समस्या पहिचान र समाधान गरि शैक्षिक गुणस्तर कायम गर्ने, स्यालाखापाको माथिल्लो बस्तिमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने, स्वास्थ्यचौकी धपेमा एम्बुलेन्स सेवा विस्तार गर्ने र भुरुङगामा रहेको सामुदायिक स्वास्थ्य इकाईमा थप सेवा विस्तार गर्ने घोषण पत्रमा लेखिएको छ । यसैगरी वडाका सवै घरमा एक घर एक धाराको व्यवस्था, वडाका प्रायः बस्तिमा सिचाईको व्यवस्था, जामाखोला लघु जलविद्युत आयोजनालाई व्यवस्थित गर्ने उम्मेद्धार पुनले प्रतिवद्धता जनाउनु भएको छ ।
सडक सञ्जाल पुगेका बस्तिमा स्तरोन्नति र नपुगेका ठाउँमा सडकको पहुँच पुर्याउने, वडाका कृषकहरुलाई विभिन्न किटनासक औषधी र विउ विजन वितरण गर्ने तथा किसानले उत्पादन गरेका बस्तुलाई बजारसम्म पुर्याउन सहयोग गर्ने उम्मेद्धार पुनको भनाई छ । वडामा हुने सवै खाले विपदलाई नियन्त्रण तथा मौसमजन्य विपद र आगलागिबाट प्रभावित नागरिकलाई राहतको व्यवस्था, वडामा रहेका सवै पर्यटकीय स्थलको संरक्षण र पवद्र्धन गर्ने, भुरुङगा र लम्पाकोटमा सामुदायिक भवन निर्माण, सवै टोलको आर्यघाटमा मलामी घर निर्माण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै खरका छाना विस्थापित गर्न जास्तापाताको व्यवस्था, वडाका सवै विद्यालयमा वाइफाइ जडान, वडामा टेलिकमको टावर निर्माण, वडाका सवै युवा यूवतिलाई स्वरोजगार बनाउन मागमा आधारित सिपमुलक तालिम सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा समेटिएको छ । यसका साथै वडाको सुशान, समृद्धि, दिगो विकास, समुन्नत वडा निर्माण र गुणस्तरीय सेवा प्रवाहलाई जनमुखि गराउन कटिवद्ध भइनेछ वडा अध्यक्षका उम्मेद्धार पुनले सार्वजनिक गर्नुभएको घोषणा पत्रमा भनिएको छ ।