रुकुम(पूर्व) को विभिन्न मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिन सुरु गरेका छन् । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनका सामग्री बुझेर मतदान अधिकृत र सहायक मतदान अधिकृत आजदेखि विभिन्न मतदान केन्द्रमा खटिन सुरु गरेका हुन् ।

आइतबाट सदरमकाम रुकुमकोटबाट टाढा रहेका मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृत निर्वाचनका सामग्री बुझेर सुरक्षा टोलीसँग हिडिसकेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँकाअनुसार आइतबार पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मा, मैकोट लगाएतको ठाउँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत हिडेका हुन् । भौगोलिक विकटताको कारण त्यहाँ पुग्न दुई दिन लाग्छ ।

सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत चुनाव हुनुभन्दा तीन दिन अघि पुग्नुपर्ने भएकाले टाढाका मतदान केन्द्रमा खटिएकाहरुलाई पठाउन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाको अन्य विभिन्न ठाउँमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरु निर्वाचनका सामग्री बुझ्ने र जाने क्रम जारी रहेको निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

“मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्र, मतपेटीका, स्वस्तिक छाप, मतपत्रलगाएतका निर्वाचन सम्बन्धिका सबै सामानहरु बुझ्ने बुझाउने र मतदान केन्द्रमा जाने क्रम चलिरहेको छ”, निर्वाचन अधिकारी ओलीले भन्नुभयो, “सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई चुनाव हुनुभन्दा तीन दिन अघि मतदान केन्द्र मा पुगिसक्न निर्देशन गरिएको छ ।” मतदान केन्द्रमा पुगेर उनिहरुले सर्वपक्षिय बैठक बस्नेदेखि लिएर २८ र २९ गते स्वयमसेवक नियुक्त गरि मतदाता शिक्षा कार्यक्रम मतदान केन्द्रमा सञ्चालन गर्ने उहाँको भनाई छ । साथै त्यतिबेलै मतदाता परिचय पत्र पनि वितरण हुने छ ।

रुकुम(पूर्व) मा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८ सय ९४ पुरुष र १६ हजार ६ सय २४ महिला गरी ३३ हजार एक सय १८ मतदाता रहेका छन् ।