
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेद्वार प्रकाश कार्कीले विजयी भएपछि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा विजयी हासिल गरेर वडा सरकारमा आएपछि कुनै पनि सेवा सुविधा नलिएर पाँच वर्ष जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकारी सेवा सुविधा नलिएर अन्य ठाउँबाट भ्रष्टाचार गर्छ की भन्ने कुरामा नागरिकलाई शंका नगर्न उहाँले आग्रह गर्नुभयो । आफ्नो एउटा इज्जत र जनताको सेवा गर्ने अवसर प्राप्तीको लागि चुनावमा होमिएको बताउदै उम्मेद्वार कार्कीले वडाबासीलाई आफ्नो अमुल्य भोट दिएर जिताउन आग्रह गर्नुभयो । सदरमुकाम रहेको ठाउँको वडासमेत भएकाले सिस्ने ५ मा विभिन्न आधारभूत कुराहरुको विकास भइसकेको बताउदै उहाँले अबका दिनमा जनताको सल्लाह सुझाव र उनिहरुको माग आवश्यकताको आधारमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सरकारबाट आफुले पाउने सेवा सुविधा वापतको रकम कोष खडा गरेर जम्मा गर्ने र त्यसबाट सुत्केरी महीलालाई यातायात खर्च, आगलागी, बाढिपहिरो पिडितलाई उनिहरुको अवस्था हेरेर ५० प्रतिशत क्षतीपूर्ती दिने योजना रहेको उहाँले बताउनुभयो । साथै ७० वर्ष माथीका ज्येष्ठ नागरिकलाई त्यसै रकमबाट पौष्टिक तत्वहरु वितरण गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
साथै सिस्ने ५ को चामराजा थलामा बन्ने एरपोर्टलाई पूर्णता दिने कुरा नै वडासँगै पालिकाको पनि पहिलो प्राथमिकतामा रहेको कुरा उहाँले बताउनुभएको छ । यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, नागरिकललाई स्वरोजगार बनाउने, सहिद परिवार, घाइते, अपांगसँगै पछिडिएका वर्गको उत्थानको लागि काम गर्ने प्रतिबद्धता उम्मेद्वार कार्कीले जनाउनुभएको छ ।