रुकुम(पूर्व) को सबै मतदान केन्द्रमा मंगलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मंगलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारीहरु पनि निर्वाचनको आवश्यक सामाग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।

मतदान केन्द्रमा पुगेर पनि उनिहरुले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षिय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा विक्रि वितरणमा बन्देज, हातहतियार लिएर मतदानकेन्द्रमा जान नपाइने लगाएका सुचनाहरु टास गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । भौगोलिक हिसावले विकट यस जिल्लाको सिस्ने १, पुथाउत्तरगंगाको १, २, ३ लगाएतका वडाहरुमा खटिएकाहरु दुई दिन लगाएर पुगेका छन् ।

अब उनिहरुले २८ र २९ गते स्वयमसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्ने छन् । मतदान सकिएपछि पनि सम्बन्धित पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्याउन टाढाको मतदानकेन्द्रबाट साढे एक देखि दुई दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुुमान गरेकाले पानी पर्यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ की भन्ने डर पनि रहेको उहाँले बताउनुभयो ।

सबै मतदान अधिकृत र सहायक मतदान अधिकृृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाई छ । रुकुम(पूर्व) मा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८ सय ९४ पुरुष र १६ हजार ६ सय २४ महिला गरी ३३ हजार एक सय १८ मतदाता रहेका छन् ।