रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ८ मा कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा माओवादीका दुई जना घाइते भएका छन् । चुनाव प्रचारप्रसारको क्रममा भुरुङ्गामा पुगेको टोलीमाथी कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणको क्रममा माओवादी वडा पार्टीका सदस्य सुदे रावललाई टाउकोमा चोट लागेको नेकपा माओवादी केन्द्र सिस्ने ८ ले जानकारी दिएको छ ।
कांग्रेस कार्यकर्ताले आक्रमण गरेको थाहा पाएपछि उम्मेद्वारको सुरक्षाको लागि गएका वाइसियलमाथी ढुङ्गामुढा र लाठ्ठी प्रहार भएको छ । त्यसबाट वाइसियलका जिल्ला सदस्य एवम् ८ नम्बर वडाका इन्चार्ज बलबरि घर्ती घाइते हुनुभएको छ । उहाँहरु दुवैजनाको अहिले रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको छ । बलबीरले आफ्नो हातको नाडिको हड्डी फ्याक्चर भएको जानकारी डाक्टरले दिएको बताउनुभयो ।
घाइते घर्तीले नेपाली कांग्रेसका प्रेम बुढा, राजन बोहोरा, गनेश रावल लगाएतको १५÷२० जनाको समुहले चुनाव प्रचारमा हिडेको समुहमाथी आक्रमण गरेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले अहिले अवस्था सामान्य रहेको बताउनुभएको छ ।