रुकुम(पूर्व) को तीन वटै पालिकामा शान्तिपूर्वक तरिकाले मतदान सम्पन्न भएको छ । जिल्लाको तीन वटै पालिकामा रहेका ३५ मतदान स्थलका ४९ वटा मतदान केन्द्रबाट मतदान गरिएको हो । सबै पालिकामा मतदान शान्ती पूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को पेल्मामा भने माओवादी र नेपाली कांग्रेस बिचमा विवाद भएपछि समयमै मतदान सुरु हुन सकेको थिएन् ।

त्यहाँ भने मध्यान्न १२ बजेर ५ मिनेट जादा मात्र मतदान प्रक्रिया सुरु भएको थियो । मध्यान्ह १२ बजे मतदान सुरु भएपनि पेल्मामा पाँच बजेभित्रै मतदान सम्पन्न भएको थियो । जिल्लामा कुल मतदाताको ७२ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुुल मतदाता संख्या ३३ हजार ५ सय १८ मतदाता संख्या रहेकोमा एघार हजार ७ सय २९ पुरुष र १२ हजार ४ सय १५ महिला गरी कुल २४ हजार एक सय ४४ जनाले मत खसालेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभएको छ ।

जिल्लाको भूमे गाउँपालिकामा कुल मतदाताको ७६ दशमलव ९२ प्रतिशत मत खसेको निर्वाचन अधिकृत बिमलप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार त्याहाँको कुल मतदाता संख्या एघार हजार ३ सय ५२ रहेको छ । तर भोट भने ७ हजार ७ सय १० मात्र खसेको छ । जसमा महिला ४ हजार ६२ र पुरुष ३ हजार ६ सय ४८ले भोट खसालेको निर्वाचन अधिकृत बरालले जानकारी दिनुभयो ।

यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा कुल मतदाताको ७५ दशमलव ११ प्रतिशत मत खसेको निर्वाचन अधिकारी नारायण चापाँगाईले जानकारी दिनुभयो । उहाँकाअनुसार पुथाउत्तरगंगा गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार दुई सय ५३ रहेको छ । त्यहाँ भोट भने ८ हजार ४ सय ५२ खसेको छ । महिला ४ हजार ३ सय ३० र पुरुष ४ हजार एक सय २२ जनाले भोट हालेको निर्वाचन अधिकृत चापाँगाईले बताउनुभयो । उहाँकाअनुसार सबै ठाउँबाट मत पेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने क्रम जारी रहेको छ । अन्य मतदान केन्द्रबाट रातीसम्ममा मतपेटीका आइपुगेपनि वडा नम्बर २ पेल्माबाट भने भोली शनिबार बिहान मात्रै मतपेटीका हिडाउने निर्वाचन अधिकारी चापाँगाइले जानकारी दिनुभयो ।

यस्तै सिस्ने गाउँपालिकामा कुल मतदाता संख्याको ७४ दशमलव ८५ प्रतिशतले भोट खसालेका छन् । सिस्नेमा कुल मतदाता संख्या १० हजार ९ सय १३ रहेको छ । शुक्रबार भोट भने ८ हजार एक सय ६८ जनाले खसालेका छन् । मत खसाल्नेमा महिला ४ हजार ९ सय ९२ र पुरुष ३ हजार ८ सय ६७ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नजिकका मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृृतको कार्यालयमा आइसकेका छन् भने अन्य ठाउँबाट पनि मतपेटिका आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृृत सनतचन्द्र लवटले जानकारी दिनुभयो ।

रुकुमकोटबाट सबै भन्दा टाढा सिस्नेबाट मतपेटिका आइपुगेसँगै सर्वपक्षिय बैठक बसी मत गणना कार्य सुरु हुने उहाँले बताउनुभएको छ । भूमे गाउँपालिकामा टाढाको केन्द्र चुनबाङबाट पनि मतपेटीका हिडालीसकेको बताउदै सम्भवत त आजैबाट मत गणनाको कार्य सुरु हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा भने मतपेटिका पुग्न समय लाग्ने छ । अन्य वडाबाट मतपेटिका आउने क्रम जारी रहेपनि २ नम्बर वडाको पेल्माबाट शनिबार बिहान मात्रै मतपेटिका हिडालिने निर्वाचन अधिकृत चापाँगाइले बताउनुभएको छ । त्यसपछि मात्रै सर्वपक्षिय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने उहाँले बताउनुभएको छ ।