रुकुम(पूर्व) को भूमे गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जना भारी मतका साथ विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी श्रेष्ठले ३ हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा विजयी बुढाले ३ हजार ९ सय ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदको लागि उम्मदेद्वारी दिनुभएका नेशनल मंगोल अर्गनाइजेसन पार्टीका रतनबहादुर बुढाले ५ सय ३ मत प्राप्त गर्नुभयो । एमाले–कांग्रेस गाठबन्धनबाट उपाध्यक्षमा लडनुभएका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३ सय ५५ मत प्राप्त गर्नुभयो ।

यस गाउँपालिकामा उम्मेद्वारी दिने बेलामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उममेद्वारी दर्ता भएको थियो । पछि कांग्रेसबाट अध्यक्षमा उम्मद्वारी दिनुभएका भिमबहादुर ओलीले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उहाँले उम्मेद्वारी फिर्ता लिएपछि यस गाउँपालिकामा सुरुबाटै माओवादी केन्द्रको जित सुनिश्चित जस्तै भएको थियो ।

९ वटा वडा रहेको यस गाउँपालिकाको ८ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । ४ नम्बर वडामा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन् ।