रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा नव निर्वाचित जनप्रतिनीधिलाई स्वागत तथा पुरानालाई बिदाई गरिएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यसँगै कर्मचारीले वैशाख ३० मा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भइ आएका जनप्रतीधिहरुलाई स्वागत गरेका हुन् ।
गाउँपालिकाका निवर्तमान अधयक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन बुढा, वडाध्यक्ष जिवन केसी, कार्यपालिका सदस्य भद्री थापा, निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाललगाएतले नव निर्वाचित पालिका अध्यक्ष कृष्ण रेग्मि, उपाध्यक्ष गोपाल रेउलेसँगै ८ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई स्वागत गर्नुभएको हो । उहाँहरुलाई फूलमाला अबिर तथा खादा ओढाएर पालिकामा स्वागत तथा बधाई दिइएको छ ।
स्वागत तथा बधाई मन्तव्य राख्दै निवर्तमान पालिका अध्यक्ष कुमारी बरालले आफु पहिलो स्थानीय सरकारको पालिका अध्यक्ष भएकाले पहिलो स्थानीय सरकारले विकासको आधार अर्थात जग तयार पार्ने काम गरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगाएतको क्षेत्रमा पालिकाले उल्लेख्य रुपमा काम गरेको बताउनुभयो । पालिकामा ऐन नियम निर्माण गर्नेदेखि लिएर आवधिक योजना र गुरुयोजना निर्माणलगाएतका काममा विशेष जोड दिएको र तीनैको आधारमा काम गरेको निवर्तमान पालिका अध्यक्ष बरालले बताउनुभयो ।
पहिलो स्थानीय सरकारको नेतृत्वमा आफुले थुप्रै चुनौतीको सामना गर्दै सम्भावनालाई पछ्याउदै काम गरेको उहाँको भनाई छ । अब बनेको नया स्थानीय सरकारलाई पनि पुरानो सरकारले गरेको अपूर्ण कामलाई पूर्णता र भइरहेका कामलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो । साथै उहाँले सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ ।
नव निर्वाचित पालिका अध्यक्ष कृष्ण रेग्मिले बिदाई मन्तव्य राख्दै पहिलो स्थानीय सरकारले गरेका विभिन्न राम्रा कामहरुलाई निरन्तरता र पूर्णता दिदै आवश्यकताको आधारमा जनचाहनाअनुसार काम गर्ने बताउनुभएको छ । गाउँगाउँमा सिंह दरबार आएको महसुस नागरिकलाई गराउने गरी योजना बनाई काम गर्ने भनाई उहाँको छ । पाँच वर्षसम्म पालिकाले महिला नेतृत्व पाएकोमा गर्व गर्दै अध्यक्ष रेग्मिले निवर्तमान पालिका अध्यक्ष, उपाध्यक्षसँगै वडाध्यक्ष र सदस्यहरुलाई धन्यवाद दिदै बाकी पल सफलताको शुभकामना दिनुभएको छ ।
अधयक्ष रेग्मिको अधयक्षतामा भएको स्वागत तथा बिदाई कार्यक्रममा निवर्तमान पालिका अध्यक्ष बराल नव निर्वाचित उपाध्यक्ष गोपाल रेउले, निवर्तमान उपाध्यक्ष गोबर्धन बुढालगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले गर्नुभएको थियो ।