रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ६ छिप्रीदहमा हरित स्वयमसेवक तथा व्यवसायिक किसानको लागि मेसिनरी मर्मत सम्बन्धि तालिम सञ्चालन गरिएको छ । तालिमको आज सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले ब्यानर पढेर उद्धघाटन गर्नुभएको छ । आजबाट सुरु भएको तालिम आउदो ९ गतेसम्म सञ्चालन हुने छ । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) को आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको सहजिकरण मेकानिकल इन्जिनीयर मनिस ठाकुरले गर्नुहुने छ ।

तालिममा विशेष गरेर मिनिटिरलको मर्मतको सम्बन्धमा जानकारी गराइने छ । अहिले जिल्लामा मिनिटिलरको प्रयोग बढ्दै गएको छ । यो अवस्थामा किसान आफैलाई मिनिटिलर मर्मतको बारेमा पनि तालिम दिदा आवश्यकताअनुसार प्रयोग र मर्मत दुवै गर्न सकुन भन्ने उदेश्यले तालिमको आयोजना गरेको कार्यालयका निमित्त प्रमुख थलराज बस्नेतले बताउनुभयो । यस्तै किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जोड्न कार्यालयसँग विभिन्न कार्यक्रमहरु रहेको पनि निमित्त प्रमुख बस्नेतले बताउनुभयो ।

तालिम उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले यस्ता तालिमले कृषि व्यवसायलाई आधुनिकिकरण, यान्त्रिकरण गर्दै समुन्नतीतिर लैजान सहयोग गर्ने बताउनुभयो । साथै कृषिलाई आधुनिकिकरण, यान्त्रिकरण र बजारीकरण गरेर सहज र सर्वसुलव बनाउनुपर्छ भन्ने मान्यताका साथ सिस्ने गाउँ सरकारले काम गर्ने पनि अध्यक्ष रेग्मिले बताउनुभयो । कृषिमार्फत रोजगारी र शिक्षामार्फत समृद्धि सम्भव हुने भनाई उहाँको छ । यस्तै नयाँ सिस्ने सरकारले किसानको वर्गिकरण गर्ने र आवश्यकताअनुसारको सहयोगमा विशेष जोड दिने भनेर निर्णय पनि गरिसकेको उहाँले जानकारी गराउनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख थलराज बस्नेतको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा सिस्ने गाउँपालिकाका अधयक्ष कृष्ण रेग्मिको प्रमुख र प्रशिक्षक मेकानिकल इन्जिनीयर मनिस ठाकुरको विशेष आतीथ्यता रहेको थियो । यस्तै कार्यक्रममा कार्यालयका अनय कर्मचारी र हरित स्वयमसेवक र व्यवसायिक किसानहरुको उपस्थिती रहेको थियो । कार्यालयका अधिकृत छैठौ छविलाल घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल दलबहादुर खड्काले गर्नुभएको थियो ।