नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिकार याम सकिएको छ । हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । यस वर्ष १७ नाउर र आठ झारलको सिकार भएको छ । पहिलो याम असोज–मङ्सिर र दोस्रो फागुन–वैशाख हुने गर्छ । पहिलो याममा १० नाउर र छ झारलको सिकारका लागि सूचना जारी गरिएकोमा नौ नाउर र तीन झारलको मात्र सिकार गरिएको थियो ।

दोस्रो याममा आठ नाउर र पाँच झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो यामका लागि नौ नाउर र ६ झारलको सिकार कोटा तोकेको थियो । उक्त याममा सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसनले सबैभन्दा बढी सिकार खेलाएको थियो । त्यस कम्पनीमार्फत फ्रान्सका तीन, अमेरिका र डेनमार्कका एक–एक जना सिकारी ढोरपाटन पुगेका थिए ।

उनीहरूले गत चैत ६ देखि वैशाख ७ गतेसम्मको अवधिमा सुनदह, दोगाडी, बार्से, फागुने र सेङ ‘ब्लक’मा सिकार खेलेका थिए । दोस्रो याममा सिकार कम्पनी हिमालयन सफारिजले मेक्सिकोका दुई र नर्वेका एक सिकारीलाई ढोरपाटन पु¥याएको थियो । नर्वेका सिकारीले दोगाडी ‘ब्लक’मा एक नाउर र एक झारल, मेक्सिकनले सुनदह र सेङमा एक नाउर तथा एक झारलको सिकार गरेका थिए । यस्तै, ग्लोबल सफारिजमार्फत आरक्ष पुगेका मेक्सिकोका सिकारीले घुस्तुङ ‘ब्लक’मा एक नाउर र एक झारलको सिकार गरेका थिए ।

सोही कम्पनीमार्फत आउने भनिएका हङ्गेरीका सिकारी अन्तिम समयमा नआएपछि घुस्तुङ ‘ब्लक’मा तोकिएको एक नाउर र एक झारलको भने सिकार नभएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा भने हिमालयन, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्सपिडिसनबाहेक हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले पनि सिकार खेलाएको थियो । ती सिकार कम्पनीले मेक्सिको, फ्रान्स, रुस, युक्रेन, स्पेन र चे रिपब्लिकका सिकारीलाई ढोरपाटन पु¥याएका थिए ।

उक्त याममा केही सिकारीले निशाना लगाउन नसक्दा कोटाअनुसार नाउर र झारलको सिकार हुन नसकेको हो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार आउँदो आवको पहिलो सिकार याम असोजदेखि सुरु हुन्छ । विभागले तोकेको कोटाअनुसार आरक्षमा सिकार खेलाउने गरिन्छ । विद्युतीय बोलपत्र मार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकारका लागि अनुज्ञापत्र दिने गर्छ । बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर निर्धारण हुने खड्काले बताउनुभयो ।

कम्पनीले यो वर्षको दोस्रो याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिनुभयो । सिकारको माग धेरै आउँदा दरभाउपत्रमा प्रतिस्पर्धा हुने र राजस्व पनि बढ्ने भन्दै निर्देशक पराजुलीले कोरोना महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन थालेको बताउनुभयो ।

सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गरेका छन् ।