रुकुम(पूर्व) भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगरले टिममा देखिएको एकरुपताको कारण भूमेले सफलतापूर्वक पाँच वर्षे कार्यकाल सम्पन्न गरेको बताउनुभयो । टिममा देखिएको एकरुपताको कारण प्राप्त गरेको सफलता भूमेको पहिचान एवम् प्रतिकको रुपमा रहेको निवर्तमान अध्यक्ष बुढाले बताउनुभयो । देशमै भूमेले नाम र कामबाट आफ्नो छुट्टै पहिचान बनाएको पनि उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली र दुर्गम जिल्ला रुकुम(पूर्व) को भूमे गाउँपालिकाले उत्कृष्ट काम गरेर देशमा आफ्नो छुट्टै पहिचान बनाएको छ । गाउँपालिकाले भौतिक विकास, पूर्वाधार, मानव विकास लगाएतको क्षेत्रलाई प्राथमिकतामा राखेर पाँच वर्षे कार्यकालमा गरेको उहाँको भनाई छ । निवर्तमान अध्यक्ष बुढाले नयाँ पालिका सरकारलाई संस्थागत स्मरणको लागि पुस्तिका हस्तान्त्रण समेत गर्नुभएको छ । त्यस पुस्तिकामा पाँच वर्षसम्म गरेका कामकाज, निर्माण गरिएको निति नियम, ऐन, कानुनहरु उल्लेख छन् ।

उहाँले अबको नयाँ सरकारलाई पुरानो सरकारले गरेको कामलाई आधार बनाएर अघि बढ्न पनि आग्रह गर्नुभयो । साथै नयाँ कार्यकालको लागि नव निर्वाचित पालिका सरकारका प्रतिनिधिहरुलाई उहाँले बधाई तथा शुभकामना दिनुभएको छ ।

यस्तै भूमे गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) ले पहिलो स्थानीय सरकारको रुपमा काम गर्दा थुप्रै खालका चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो । उहाँले विभिन्न चुनौतीको बाबजुत पनि भूमेलाई नमुना गाउँपालिकाको रुपमा चिनाउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । पालिकाले संस्थागत विकासलाई जोड दिएर अघि बढ्नुका साथै काम गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबिचमा भएको एकताको कारण पाँच वर्षे कार्यकालमा गाउँपालिकामा सन्तोषजनक काम गर्न सफल भएको निवर्तमान उपाध्यक्ष बुढाले बताउनुभयो ।

भूमे गाउँपालिकाले पाँच वर्षे कार्यकालमा गरेको कामप्रती नागरिकहरुको पनि सकारात्मक प्रतिक्रियाहरु आउने गरेका छन् । स्थानीय सरकारको पाँच वर्षे कार्यकाल सकाएर पदबाट मुक्त भएपनि आवश्यक परेको खण्डमा र पाँच वर्ष काम गर्ने क्रममा आफुले गरेको अनुभव नयाँ सरकारसँग बाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । साथै उहाँले नयाँ भूमे गाउँ सरकारलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

यस्तै गाउँलिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले भूमे गाउँपालिकाको पाँच वर्षे कार्यकाल सहज, र सरल तरिकाले बितेको बताउनुभयो । वितेको पाँच वर्षमा भूमे सरकारले कुशल नेतृत्व पाएको पनि बताउनुभयो । भूमे गाउँपालिकाका निवर्तमान प्रतिनिधिहरुलाई बिदाई र नव र्निर्वाचित प्रतिनिधिलाई बधाई एवम् स्वागत कार्यक्रममा बोल्ने क्रममा प्रतिनिधिहरुले कर्मचारीको र कर्मचारीले प्रतिनिधिहरुको प्रशंसामा केहि समय खर्चिनुभएको थियो ।

नव निर्वाचित पालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले पहिलो भूमे सरकारले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा उहाँहरुको सल्लाह सुझाव लिएर काम गर्ने बताउनुभयो । साथै उहाँले भूमेबासी नागरिकको आवश्यकतालाई प्राथमिकिकरण गरेर काम गर्ने भनाई उहाँको छ ।