रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर ६ वयलचौरमा जनचाहना विपरित ढोरपाटन शिकार आरक्षको आर्मी क्याम्प राख्न लागेको भन्दै नागरिकहरुले विरोध जनाएका छन् । वयलचौरमा जनताको चाहना विपरित आर्मी क्याम्प राख्न खोजेको भन्दै वडा सामुदायिक वन सरोकार समिति र ६ नम्बर वडाका बहुमत जनताले त्यसको विरोध जनाई पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन जारी राखेको बताएका छन् ।

सामुदायिक वन सरोकार समिति रुकुम(पूर्व) ले एक विज्ञप्ती जारी गर्दै यो कुराको जानकारी गराएको छ । आन्दोलनकारीका प्रतिनिधि र सम्बन्धित निकाय तथा व्यक्तिबिचमा जेठ १४ गते तकसेरामा दोहोरो छलफल भएपनि विषयवस्तुमा कुनै पक्षबाट सहमति हुन नसेको कुरा समितिका अध्यक्ष कर्मप्रशाद शाही र सचिव हिकमत सेनद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

आन्दोलनकारीहरुले आफ्नो हक अधिकारको लागि कानुनी परिधि भित्र रहि शान्तिपूर्ण आन्दोलन जारी राख्दा आन्दोलनमाथी जवरजस्ति अस्तक्षेप गरि मानवीय क्षती भएमा वा मानव अधिकारको उल्लघंन गर्ने कार्य भएमा सम्बन्धित निकाय वा व्यक्ति नै जवाफदेहि हुने कुरा पनि उल्लेख गरिएको छ ।