रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाले योजना निर्माण गर्न संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने भएको छ । पालिका सरकारमा नयाँ जनप्रतिनिधि आएसँगै दोस्रो पटक बसेको कार्यपालिका बैठकले योजना निर्माणको लागि दुई तह संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको हो । क्युबाङ–कोल–राङ्सी–जामाबगर सडक खण्ड स्तरोन्नती, १० नम्बर वडामा घुम्लिबाङ झोलुङ्गे पुलदेखि विद्यालयसम्मको गोरेटो बाटो मर्मत र चारगाउँ–खाराबाङ–अर्जल–मैकोट–पेल्मा सडकखण्ड निर्माणको लागि बजेट माग गरि पठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार रन्मा र तकमा नमुना बस्ति विकास, पर्यटकिय क्षेत्र विर्गुमखानी संरक्षण एवम् ढल निकास, बिर्गुम डाँडा भ्यू टाववर निर्माण, तातोपानी–हिम–गुइबाङ–जुनाङ–जाजा–क्युजा हुँदै पुथा बेस क्याम्पसम्म पदमार्ग निर्माणसँगै जाङ–घुुर्वाङ–खारखोला सडक निर्माणको लागि बजेट माग गरि पठाउने निर्णय भएको छ । रातो दह तटबन्ध, गरदेखि धुम्माघारी हुँदै रिसल्लासम्म सडक निर्माण, पानीचौरदेखि खोलाजासम्म दोधर ढल निकास, काँडाखोला तटबन्ध, रिमुईघारी ताल संरक्षण तथा प्रवद्र्धन, रन्मादेखि सुनदह तालसम्म र राङ्सीदेखि पानीचौरसम्म पर्यटकिय पदमार्ग निर्माण गर्न बजेट माग गरि पठाइने प्रवक्ता घर्तीले बताउनुभयो ।

गरमा सुविधासम्पन्न महिला भवन, १० मा दलित भवन, ११ मा वालवाङ तटबन्ध, डाँडागाउँदेखि प्रभु गुफा, रातो दह हुँदै बोक्सा दहसम्म पर्यटन पदमार्ग निर्माण, तकसेरा रामझीमा पर्यटन पदमार्ग, ५ मा सामुदायिक होमस्टे, ६ मा सामुदायिक महिला भवन, जनजागृती आधारभूत विद्यालयको भवन, घुन्मा खोलादेखि लिस्नि झरना हुँदै गुल्जा छहरा–कुन्तला दह–साङ्रे–यार्सा क्षेत्रसम्म पदमार्ग निर्माण गर्न बजेट माग गरि पठाइने निर्णय भएको पुथा उत्तरगंगा गाउँ कार्यपालिकाले जनाएको छ ।

यसैगरी पर्यटकिय एवम् भौगोलिक रुपले महत्वपूर्ण रहेको ढोरपाटन शिकार आरक्षको क्षेत्रभित्र पर्ने तकसेरा–ढोरपाटन सडक निर्माणको कार्य सुचारु गर्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ढोरपाटन शिकार आरक्षको कार्यालयमा सहमति माग गर्ने निर्णय गरिएको छ । यस्तै गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाले प्रस्ताव गरेको विद्यालय अनुगमण निर्देशिका २०७९ रकरार शिक्षक तथा कर्मचारी नियुक्ति सम्बन्धि कार्यविधि २०७९ छलफल तथा परिमार्जनसहित सुझावका लागि विधायन समितिमा पेश गर्ने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता घर्तीले बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम सम्बन्धि छलफल गर्न अर्को कार्यपालिका बैठक जेठ २५ गते बस्ने भएको छ ।