रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मा स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षबिचको छलफलपछि स्थानीयले धर्ना फिर्ता लिएका छन् । यहि जेठ १५ बाट वयलडाँडामा जारी धर्ना मंगलबार साझबाट स्थानीयले फिर्ता लिएका हुन् । २४ गते गाउँपालिकास्तरीय सर्वपक्षिय बैठक बस्ने मौखिक सहमतीपछि स्थानीयले जारी धर्ना फिर्ता लिएको छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले जानकारी दिनुभयो ।

२४ गते बैठक बसेर निर्णय नहुँदासम्मको लागि स्थानीयले धर्ना फिर्ता लिनुका साथै आरक्षको टोलि पनि ब्याक भएको छ । पालिकास्तरीय सर्वपक्षिय बैठक बसेर गरिएको निर्णयलाई स्विकार्ने पनि धर्नाकारीले बताएका छन् । आरक्षले पनि सर्वपक्षिय बैठकपछि नै आफ्नो गतिविधि अघि बढाउने भएको छ । मंगलबार बिहानबाट साझ अबेरसम्म वयलडाँडामा आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका र निवर्तमान वडाध्यक्षसँग छलफल गरिएको थियो । छलफलमा केहि पार्टीका प्रतिनिधि र स्थानीय रहेको आरक्षका सहायक वार्डेन थापामगरले बताउनुभयो ।

वडा नम्बर ६ को वयलडाँडामा ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प राख्न खोजेपछि नागरिकहरु विरोधमा उत्रिएका थिए । आर्मी क्याम्प बनाउन भनेर यहि जेठ१२ गते राती वयलडाँडामा डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो । त्यस लगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो भने त्यहाँका बहुमत नागरिकले यसमा समर्थन जनाएका थिए ।

१३ गतेको दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमती हुन सकेन् । आर्मीले क्याम्प राख्नको लागि जमिन खन्ने काम थालेपछि र छलफलबाट कुनै सहमती लाग्न नसकेपछि १५ गते साझबाट नागरिकहरुले त्यस ठाउँमा गएर धर्नानै सुरु गरेका थिए । त्यसै दिन आरक्षबाट सहायक वार्डेन थापामगर र दुर्गा बक्स गुल्मका उपसेनानीसहितको टोली वयलडाँडामा आएको थियो । यो टोलीलाई वयलडाँडा प्रवेशमा पनि स्थानीय नागरिकले अवरोध गरेका थिए ।

वडा नम्बर ६ मा डिम्मुरगैरा र मयाङ दुई ठुला गाउँ छन् । यस ठाउँमा बहुमत नागरिकको सहमतीबिना आर्मी क्याम्प किन राख्न लागियो भन्ने कुरामा स्थानीयले विरोध जनाउदै आएका थिए । आरक्षको आर्मी क्याम्प वयलडाँडामा राखियो भने वनजंगल, जडिबुटीसँग हाम्रो सम्बन्ध हुँदैन भन्ने बुझाई नागरिकमा छ । उनिहरु भन्छन्, “यहाँ आर्मी क्याम्प बस्यो भने हामीलाई घास, दाउरा, स्याउला, सोत्तर, पशुपालन चरिचरणमा बन्देज लगाइन्छ । हामी कृषि पशुपालमा आश्रीत यो समुदायलाई वन, जंगल, जडिबुटी, खानी भोगचलन गर्नमा आरक्षले बन्देज लगायो भने हाम्रो त उठिबास लाग्छ ।”

स्थानीय धनबहादुर सेनले भन्नुभयो, “अहिलेसम्म हामीले भोगचलन र आफै संरक्षण गर्दै आएको वन जंगल आरक्षको क्याम्प बस्ने बित्तिकै उसको सिफारिस र अनुमतीमा चल्नुपर्ने हुन्छ, हामी त्यो चाहदैनौ । अहिले जसरी चलिरहेका छौ हामी यहि अवस्थामा रहन चाहन्छौ । पूर्खौदेखि बस्दै आएको यस क्षेत्रमा आरक्ष बसेमा हाम्रो हक अधिकार स्वत कटौती हुन्छ, त्यो हामीलाई मन्जुर छैन् ।”

यहि आर्मी क्याम्प पहिले वडा नम्र १३ मा राख्न खोजिएको थियो । त्यस ठाउँमा नागरिकले विरोधको संकेत देखाएपछि ६ नम्बर वडाको वयलडाँडामा राख्न लागिएको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । आरक्षले आफ्नो डिमार्केसन यरिया घेराबन्दी गर्दै जान थालेको उहाँले बताउनुभयो । अध्यक्ष घर्तीले विवादास्पद भन्दा पनि यहाँका नागरिक सबैलाई सहमतीमा ल्याएर आरक्षले काम गर्नुपर्ने बताउनुभयो ।

“जनताका मागलाई संबोधन हुने गरि आरक्षले सहमती कायम गर्नुपर्छ,” अध्यक्ष घर्तीले भन्नुभयो, “२४ गते सर्वपक्षिय बैठक बसी सहमतीबाट निर्णय गर्छौ, उहाँले थप्नुभयो, “जनतामा आरक्षको आर्मी क्याम्प बसे यसले दुख दिन्छ भन्ने बुझाई परेको छ । जनताले बुझेको जस्तो दुख आरक्षले दिदैन्, किनकी आरक्ष पनि सरकारको एउटा अंग हो । तर अहिले जती खुल्लमखुल्ला वन, जंगल, जडिबुटी स्थानीयले उपभोग गर्न पाएका छन् त्यो चाहि पछि हुँदैन् । किनकी सरकारको, आरक्षको आफ्नै नियम, कानुन, मापदण्ड छ । यस प्रकारको नियम, कानुनले जनातको जिवनमा अहीले र पछिको स्थितीमा भने प्रभाव पार्ने नै गर्छ ।” पुथामा वयलडाँडाको कुरा मात्र नभई ढोरपाटन शिकार आरक्षले छोएको सबै ठाउँका नागरिकले आरक्षले निर्माण गर्ने सुरक्षा पोष्टको विरोध गर्दै आएको उहाँको भनाई छ । यहाँका नागरिकले मध्यवर्ती क्षेत्र घोषणाको पनि विरोध गर्दै आएका छन् ।

वयलडाँडामा नेपाल सरकारले नै आरक्षको सुरक्षा पोष्ट राख्ने निर्णय गरेकाले सोहिअनुसार यहाँका सरोकारवाला निकायसँग छलफल गरि काम अघि बढाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले बताउनुभयो । साथै सरकारको प्रस्तावित मध्यवर्ती क्षेत्रमा परेको रुकुम(पूर्व) सहित बागलुङ, गुल्मिका नागरिकसँग यसअघि वडास्तरमा पुगेर छलफल गरेको पनि वार्डेन कंडेलले बताउनुभयो । वडा नम्बर ६ को डिम्मुरगैराका नागरिकसँगै पालिका, वडा सरकारका प्रतिनिधिहरुसँग छलफल सकारात्मक भएको बताउदै वार्डेन कंडेलले विशेष गरि मयाङका नागरिकले यसमा विरोध जनाउदै आएको बताउनुभयो ।

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाको ८ वटा वडालाई टोरपाटन शिकार आरक्षले छोएको छ । १, २, ३, ५, ६, १०, ११ र १३ नम्बर वडालाई आरक्षले छोएको छ । अन्य वडाको आधा भाग आरक्ष क्षेत्रमा पर्छ भने २ नम्बर वडाको सबै क्षेत्र आरक्षमै पर्छ । आरक्षको सबै भन्दा बढी अर्थात ६० प्रतिशत भू–भाग रुकुम(पूर्व) मा पर्छ । यो ६० प्रतिशत भाग नै पुथा उत्तरगंगा गाउँपालिकामा पर्छ । बाकी केहि भाग बागलुङ र म्याग्दिमा पर्छ । रुकुम(पूर्व) मा आरक्षको धेरै भाग रहेपनि मुख्य कार्यालय भने सबै बागलुङमै छन् । यसको विषयमा पनि जिल्लामा केहिलेकाही छलफल चल्ने गरेको पाइन्छ ।